२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ । दोस्रो खेलमा वेस्ट इन्डिजलाई हराउँदै नेपालले ३ खेलको टी-२०आई सिरिज आफ्नो पक्षमा पारेको हो ।
नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज १७ ओभर १ बलमा ८३ रनमा समेटियो ।नेपालको जितमा आदिल आलमले उत्कृष्ट बलिङ गरे। लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका आदिलले पहिलो खेलमै आफूलाई प्रमाणित गरे । ४ ओभर बलिङ गरेका २४ रन खर्चेर ४ विकेट लिए ।
कुशल भुर्तेलले ३, करण केसी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एकएक विकेट लिए । वेष्ट इन्डिजका ३ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए । जेसोन होल्डरले सर्वाधिक २१ रन बनाए । त्यसअघि दुबईको शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
नेपालका लागि दुई ब्याटरले अर्धशतक प्रहार गरे । ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन बनाए ।
सन्दीप जोराले ३९ बलमा ६३ रन बनाए । कुशल भुर्तेल २, कप्तान रोहित पौडेल ३, कुशल मल्ल ७, आदिल आलम ११ र गुल्सन झा ६ रनमा आउट भए । बलिङमा वेष्ट इन्डिजका काइल मेयर्स र अकिल होसेनले २्२ तथा जेडियाह ब्लेड्सले एक विकेट लिए । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथी १९ रनको ऐतिहासिक जित दर्ता गरेको थियो । नेपाल र वेष्ट इन्डिजबिचको तेसो खेल मंगलबार हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij