२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाउने गरेको महँगो घडी र उनकी छोरी गंगा दाहालले बोक्ने गरेको विलासी ब्यागबारे प्रश्न उठेको छ।
केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले बैठकमा लिखित प्रस्ताव पेस गर्दै अध्यक्षले लगाउने ६४ लाखको रोलेक्स घडी र छोरीले बोक्ने २८ लाखको लुई भिटन ब्यागको वैधानिकता र स्रोतमाथि प्रश्न उठाएका छन् ।
नेता पन्तले समाचार प्रकाशन गर्ने मिडिया र यसबारे संसदमा प्रश्न उठाउने नेपाली कांग्रेसका सांसद सुनील शर्माविरुद्ध समेत मानहानिको मुद्दा दायर गर्न अध्यक्षलाई चुनौती दिएका छन् ।
पन्तले ती सामग्री उपहारस्वरूप प्राप्त भएको भए त्यसलाई व्यक्तिगत रूपमा प्रयोग गर्नु नैतिक रूपमा गलत हुने तर्क गरेका छन्।
यो विषयका अतिरिक्त पन्तले आफ्नो प्रस्तावमा पार्टीका नेताहरूको सम्पत्ति छानबिन, अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा राज्यलाई भएको करिब २० अर्ब नोक्सानी, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’ को २ अर्ब ८२ करोडको हिसाबकिताब र विगत १८ वर्षमा ‘मालदार’ मन्त्रालय सम्हालेका नेताहरूले आर्जन गरेको लाभको निष्पक्ष छानबिन गर्नुपर्ने माग राखेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij