Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

जेनजी आन्दोलनपछि वैदेशिक रोजगारमा भय

जेनजी आन्दोलनपछि वैदेशिक रोजगारमा भय


  • 666
    Shares

    जेनजी आन्दोलनपछि वैदेशिक रोजगारमा भय
    images

    काठमाडौं । मंगलबारमात्रै यूएईस्थित नेपाली दूतावासले ‘अत्यन्त जरुरी सूचना’ भन्दै नेपाली कामदार र सरोकारवालालाई ११ बुँदामा सचेत गरायो । केही नेपालीहरूले मादक पदार्थ सेवन, झैझगडा, बैंकिङ्ग सम्बन्धी अवैध लेनदेन, लागू औषध ओसारपसार, इमिरेट्स आईडीको दुरुपयोग, साइबर क्राइम, अध्यागमन नियम उल्लंघन, ट्राफिक नियम उल्लंघन तथा फ्रिलान्स भिसाको प्रलोभनमा संलग्न हुने क्रम बढिरहेको भन्दै दूतावासले त्यसतर्फ सचेत गराएको हो ।

    राजदूतावासले यस्ता गतिविधिहरू युएईको कानुन अनुसार दण्डनीय हुने भएकाले नेपाली नागरिकहरूलाई सतर्क रहन र विशेष सावधानी अपनाउन आग्रह गरेको हो । साथै, युएईमा बसोबास गर्दा मर्यादित, अनुशासित र इमान्दार व्यवहार अपनाउनुपर्नेमा पनि दूतावासले जोड दिएको छ । दूतावासले नागरिकहरूलाई आफ्ना पासपोर्ट र फोनको सिम कार्ड अरूलाई नदिन, अनावश्यक नगद कारोबार नगर्न, सामाजिक संजालमा अविवेकी पोस्ट नगर्न र देशका चाडपर्व तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दा स्थानीय निकायको अनुमति लिन समेत सचेत गराएको छ ।

    पछिल्लो समय खाडी मुलुक यूएईले नेपालमा भएको जेनजी आन्दोलनपछि सचेत हुँदै नेपालीलाई कडाइ थालेको छ । यतिसम्मकी यूएईले भिडिट र वर्किङ भिसा जारी गर्न हाललाई रोकेको छ । रोकेको मात्रै छैन कूटनीतिक माध्यमबाट नेपाललाई यसबारे जानकारी पनि गराइरहेको छ । नेपालमा जेनजी आन्दोलनपछि धेरै कैदीबन्दी जेलबाट निस्किएको र उनीहरु यूएई पुग्ने हो कि भन्ने चिन्ता उसमा रहेको बताइन्छ । साथसाथै राजनीतिक अस्थिरताले यहाँबाट गएर यूएईमा लुक्ने हो कि भन्ने चिन्ता पनि उसमा रहेको बताइन्छ ।

    यूएई मात्रै होइन खाडी मुलुककै अन्य केही देश र मलेसियाले समेत कडाइ थालेको छ । यूएईसँगै मलेसिया, साउदी अरब, कतार लगायत देशले समेत भिसा दिन कडाइ गर्न थालेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिम्दोङले मलेसिया सहित अन्य खाडी देशले समेत भिसा दिन कडाइ गर्न थालेको बताए । यूएईपछि मलेसिया, कतार, साउदी लगायत देशले समेत सहज भिसा दिन छाडेको उनको भनाइ छ । ‘दुईरतीन दिनयता अनेकन कागजात मागिरहेका छन् । प्रहरी रिपोर्ट पनि तत्कालको मागिरहेका छन् । कतिपयको रिजेक्ट पनि भइरहेको छ,’ डिम्दोङले भने ।

    उसो त यूएईमा भिजिट भिसा बन्द गरेपछि नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई समेत भिसा दिन अस्वीकार गरेको थियो । वेस्ट इन्डिजसँगको टी–२० आई शृङ्खला खेल्न यूएई जान लागेका खेलाडीलाई भिसा दिन अस्वीकार गरेको थियो । पछि उनीहरुले भिसा पाएका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङ भन्छन्, ‘अहिलेसम्म सरकारले वा युएई सहितका देशले आधिकारिक जानकारी दिएका छैनन् । तर तीन दिनदेखि वर्किङ र भिजिट दुवै भिसा रिजेक्ट भइरहेको तथ्य छ । यसले तत्कालीन रूपमा ठूलो असर पार्छ भन्ने स्पष्ट भइसकेको छ ।’

    नेपालको हालको राजनीतिक अस्थिरता र आन्दोलनका कारण नेपाली कामदारलाई अन्तर्राष्ट्रिय बजारमै असर पर्न थालेको छ । गन्तव्य देशमा भिसामा कडाइ हुन थालेपछि तत्काल हजारौं श्रमिक प्रभावित भएका छन् भने दीर्घकालीन रूपमा वैदेशिक रोजगार क्षेत्रमा ठूलो चुनौती आउन सक्ने देखिएको छ । श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालले समेत सुृरुमा युएईले सुरक्षासम्बन्धी चिन्ताका कारण यस्तो कदम अघि बढाएको हुनसक्ने बताए । ‘हालै नेपालमै देखिएको ध्वंसात्मक व्यवहार र कैदी भागेको जस्ता घटनालाई आधार बनाउँदै त्यहाँ अशान्ति निम्त्याउने प्रवृत्तिका मानिस पस्यो भने सुरक्षा चुनौती आउँछ भन्ने आशंका प्रमुख हो,’ नेपालले भने ।

    युएईको यस्तो निर्णयले केवल अस्थायी असर गर्ने मात्र नभई नेपाली श्रमिकप्रति रहेको विश्वासमाथि पनि प्रश्न उठ्न सक्ने बताए । ‘विश्व श्रम बजारमा नेपाली इमानदार र लगनशील भन्ने छाप थियो । तर आफ्नै सम्पत्तिलाई निर्दयी रूपमा नष्ट गर्ने व्यवहार देखिँदा उल्टो छाप पर्न सक्ने खतरा छ,’ नेपालले भने । गन्तव्य मुलुकहरूले यस्तै नीति लिइरहे बेरोजगारीको समस्या महामारीजस्तै हुने खतरा रहेको उनको भनाइ छ । नेपालको रोजगारीको प्रमुख गन्तव्य यूएई हो । त्यसपछि साउदी रहेको छ । यस्तै मलेसियामा हाल सीमित क्षेत्रमा श्रमिक रहेपनि त्यो पनि एउटा गन्तव्य हो । यस्तो गन्तव्यहरुमा कामदारलाई सहज वातावरणमा जान दिनका लागि सरकारले कूटनीतिक पहल गरेर आश्वस्त पार्नुपर्ने सरोकारवाला बताउँछन् । नत्र आन्तरिक रोजगारी पनि नहुने र विदेशमा पनि समस्या हुँदा बेरोजगारी त हुने नै छ, ठगीजस्ता घटनासमेत बढ्ने उनीहरुको धारणा छ ।

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - ०८:२७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij