२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्रीको दलले नै नाटकीय निर्णय गरेपछि सरकारको औचित्य सकिएकाले कांग्रेसले समर्थन फिर्ता लिनुपरेको मधेस कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले जानकारी दिए ।
“मुख्यमन्त्रीको पार्टी जनमतले सरकारबाट बाहिरिने निर्णय गरेर संसद्मा समेत प्रतिपक्षको बेन्चमा बस्ने निर्णय सुनाइसकेको छ । यस्तो अवस्थामा यो सरकारको औचित्य रहँदैन,” यादवले भने, “त्यसैले हामीले मुख्यमन्त्रीलाई समर्थन गरेर सरकारमा बसिरहनु राजनीतिक र नैतिक दुवै भएन ।”
उनले त्यही कारण आजैदेखि समर्थन फिर्ता लिने निर्णय गरेको बताए । उनीहरूले त्यसको जानकारी प्रदेशसभालाई गराइसकेका छन् ।अब सरकार गठनका लागि उचित विकल्पमा छलफल हुने यादव बताउँछन् । पहिलो प्राथमिकता भने आफ्नै नेतृत्वमा सरकार बनाउने हुने उनको भनाइ छ ।
“हामी मधेस प्रदेशमा दोस्रो छौँ । पहिलो पार्टी एमालेको भन्दा हाम्रो एक सिटमात्र कम भएकाले सरकार बनाउने स्ट्रेन्थ हामीले पनि राख्छौँ,” यादवले भने, “अब आफ्नै नेतृत्वमा सरकार गठनको पहल हुनेछ । तर, सम्भव भएन भने सरकारविहीन अवस्था रहँदैन । अर्को सरकार बनिहाल्छ ।”
जेनजी आन्दोलन चर्किएपछि जनमतले मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । निर्णयपछि जनमतले प्रतिपक्षमा बस्ने जानकारी प्रदेश सभामा गराइसकेको छ ।
मधेस प्रदेश सभामा पहिलो पार्टी रहेको एमालेको २३ तथा कांग्रेसको २२ सिट छ । त्यसपछिका जसपा नेपालको १९ र जनमत पार्टीको १३ सिट छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij