२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । जेनजी आन्दोलबाट उत्पन्न परिस्थितिका कारण दसैँमा खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याएर सहुलियत दरमा बिक्री गर्ने व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य कम्पनी)को योजना प्रभावित बनेको छ ।
यस वर्षको दसैँका लागि खसीबोका र च्याङ्ग्रा खरिद गर्ने योजना स्थगित गरेको जनाएको छ । कम्पनीको खरिद विभाग प्रमुख अनन्तराज न्यौपानेले यो वर्षका लागि खरिद प्रक्रिया अगाडि बढाउन नसकिएको बताएका छन् ।
उनका अनुसार खसीबोका र च्याङ्ग्रा स्थानीय तहहरूसँग समन्वय गरेर ल्याउनु पर्ने हुन्छ । तर, अहिले अवस्था सहज भएपनि सबै प्रक्रिया पूरा गर्न समय नपुग्ने भएपछि अन्ततः स्थगित नै गरिएको उनको भनाइ छ ।
खाद्यले यसअघि दसैँमा खसीबोका र च्याङ्ग्रा बिक्रीका लागि भदौ १७ गतेदेखि ३० गतेसम्मका लागि अनलाइनमार्फत अग्रिम बुकिङ खुला गरेको थियो । जसअनुसार उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमा गएर आफूलाई चाहिएको खसीबोका वा च्याङ्ग्रा छनोट गरी बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको थियो ।
खाद्यले यो वर्ष १ हजार ५ सय खसीबोका र ३ सय च्याङ्ग्रा खरिद गर्ने लक्ष्य लिएको थियो । यद्यपि, अनलाइन बुकिङको मागका आधारमा बिक्री गरिने भएकाले यो सङ्ख्यामा केही वृद्धि हुन सक्ने जनाएको थियो ।
यसका साथै जिउँदो खसी बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँका दरले छुट दिइने जानकारी दिएको थियो । अब अग्रिम बुकिङ गर्दा उपभोक्ताले बुझाएको शुल्क फिर्ता गरिने खाद्यले जानकारी दिएको छ ।
अघिल्लो वर्षको दसैँमा भने खाद्यले १ हजार ५ वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा ल्याएर प्रतिकिलो १०\१० रुपैयाँ छुटमा बिक्री गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij