२०८२ माघ १२ गते सोमवार
काठमाडौं । प्रहरीले सप्तरी हुँदै भारततर्फ जाँदै गरेकी उज्बेकिस्तानका दुई जना महिलालाई नियन्त्रणमा लिएको छ । शनिबार बेलुका बेल्ही नाका हुँदै भारततर्फ जाँदै गरेका उज्बेकिस्तानका ३९ वर्षीया फेरुजा याख्सिमुरातोवा र ३९ वर्षीया शोखिस्टा अकबारोवालाई नियन्त्रणमा लिएको हो ।
गस्तीमा खटिएको प्रहरी टोलीले जिल्लाको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित भारततर्फ गइरहेको बीआर ०७ एवाई १८७६ नम्बरको मोटरसाइकलमा पछाडि सवार उनीहरूमाथि शंका लागेर चेक गरेका थिए ।
बिहार, मधुबनीको लालमनिया डुमरबानाका २० वर्षीय नितिशकुमार विन्दाले चलाइरहेको मोटरसाइकलमा बसेका उनीहरूसँग पासपोर्टसहित आवश्यक कागजात नभेटिएपछि दुवै जनालाई नियन्त्रणमा लिएको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
‘काठमाडौंको एक होटलमा बस्दै आएको उनीहरूले बताए पनि दुवै जनासँग पासपोर्टसहितका आवश्यक कागजात छैन,’ उनले भने, ‘पासपोर्ट र कागजात होटलमै छुटेको भनिरहेकाले हामी होटलसँग पनि समन्वयन गर्दैछौं ।’
तर, दुवै जनाले भारततर्फ जान लागेको कारण भने खुलाएका छैनन् । त्यस विषयमा अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए । मोटरसाइकल चालक विन्दासँग पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij