२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै आज आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले यसअघि आजदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल रहेको थियो । तर, राष्ट्र बैङ्क तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिएका छन् ।
दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जानकारी दिएको छ ।
साथै, बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । ५ रुपैयाँ दरको नोट भने नयाँ वितरण हुने भएको छ । ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ ।
बैङ्कले नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । नयाँ नोटको सट्टा सुकिला नोट बाँड्दा वार्षिक झन्डै १ अर्ब ३० करोड रुपैयाँ बचत हुने राष्ट्र बैंकको अनुमान रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij