२०८२ भाद्र २६ गते बिहिवार
१. हेटौंडामा जनजीवन सामान्य बन्दै
हेटौंडामा पछिल्ला दिनमा देखिएको अस्थिर अवस्था क्रमशः सुधार हुँदै गएको छ । आन्दोलनपछिको तनावपछि नेपाली सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन थालेको हो । नेपाली सेनाले कफ्र्युमा केही खुकुलोपन ल्याएको छ । बिहान ६ बजेदेखि १० बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई बाहिर निस्कने अनुमति दिइएको छ ।
२. संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिने प्रयास भईरहेको बताउनुभएको छ । विहीवार एक विज्ञप्ति जारी गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो । उहाँले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार विमर्श गरिररहेको उल्लेख गर्नुभएको छ ।
३. संविधान रक्षार्थ आन्दोलन शुरु गर्ने खबरसँगै सेनाद्वारा सुरक्षा व्यवस्था मजबुत
काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको हो । काठमाडौंको माईतीघर, कालीमाटी, नक्शाल, कमलपोखरी, सुन्धारा लगायतका स्थानहरुमा सेनाले गस्ती गरिरहेको छ । साथै सवारी साधनमा हिँड्नेहरुलाई चेकजाँच गरिरहेको छ ।
४. प्रमुख दलहरूको आह्वान– ‘संविधान र लोकतान्त्रिक बाटोबाटै समाधान खोजौं’
नेपालका प्रमुख राजनितिक दलहरुले देश संकटग्रस्त अवस्थामा पुगेको बताएका छन् । प्रमुख दलका नेताहरूले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनापछि देश राजनीतिक अनिश्चितता र संवैधानिक शुन्यताको जोखिमतर्फ धकेलिँदै उल्लेख गरेका छन् । उनीहरुले आ–आफ्ना धारणा सार्वजनिक गर्दै वर्तमान संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत सहमति र संवादबाट मात्रै वर्तमान समस्याको समाधान खोज्न सकिने औंल्याएका छन् ।
५. निजी क्षेत्रको एउटै स्वरः ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अब नयाँ शिराबाट अघि बढौँ’
जेन जी आन्दोलका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नभएको निजी क्षेत्रले बताएको छ । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखि सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ, निर्माण व्यवसायी महासंघ, होटल संघ नेपाल (हान), इप्पान लगायतका संस्थाहरुले अब नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन् ।
६. कानून व्यवसायी भन्छन्ः ‘जेन जी पुस्ताको माग व्यवस्था परिवर्तन होइन, आवश्यक परे सडकमा जान तयार छौँ’
कानून व्यवसायीहरुले अहिलेको अवस्थालाई परिवर्तन गर्ने माग जेन जी पुस्ताहरुको भएपनि व्यवस्था परिवर्तन गर्ने माग नरहेको जिकिर गरेका छन् । नेपाल बार एशोसिएशनद्वारा भर्चुअल माध्यमबाट गरिएको बैठकमा बोल्दै कानून व्यवसायीहरुले यस्तो बताएका हुन् । उनीहरले संसद अहिले पनि चालु नै रहेको र संविधानभित्रबाटै समस्याको समाधान निकाल्नुपर्ने बताए ।
७. काठमाडौं उपत्यकामा जनजीवन सामान्य बन्दै
काठमाडौं उपत्यकासहित देशभर जनजीवन सामान्य बन्दै गएको छ । आन्दोलनपछि नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको हो । नेपाली सेनाले कफ्र्यु खुकुलो बनाएसँगै पसलहरुबाट सामान खरिद गर्न, अत्यावश्यकका काममा घर बाहिरि निस्किन दिएको छ । बिहान ६ बजेदेखि १० बजेसम्म हिँडडुलका लागि वातावरण मिलाएको सेनाले १० बजेपछि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउने भएको छ । काठमाडौंमा बिहान मानिसहरु आवश्यक कामका लागि बाहिर निस्किएका छन् । बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावतका लागि निषेधाज्ञा केही खुकुलो बनाउने बताएको छ । नेपाली सेनाले सुरक्षाकर्मी, पानी, सञ्चारकर्मी, सरकारी कर्मचारीहरुलाई परिचय पत्र हेरेर आवतजावत गर्न दिएको छ ।
८. इथियोपियामा अफ्रिकाको सबैभन्दा ठूलो जलविद्युत बाँधको उद्घाटन
इथियोपियाले मंगलवार अफ्रिकाको सबैभन्दा ठूलो जलविद्युत परियोजना ग्रान्ड इथियोपियन पुनर्जागरण बाँधको आधिकारिक रूपमा उद्घाटन गरेको छ । परियोजनाको आधिकारिक समापन मनाउन उत्तरपश्चिमी बेनिशाङ्गुल–गुमुज क्षेत्रको बाँध नजिकै एक समारोह आयोजना गरिएको थियो। यसमा वरिष्ठ इथियोपियाली अधिकारीहरू, अफ्रिकी नेताहरू र अफ्रिकी संघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू उपस्थित थिए, जसमा अफ्रिकी संघ आयोगका अध्यक्ष महमूद अली युसुफ, केन्याली राष्ट्रपति विलियम रुटो, जिबुटीका राष्ट्रपति इस्माइल ओमार गुएलेह र दक्षिण सुडानी राष्ट्रपति साल्भा किर पनि समावेश थिए ।
९.इरान र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीबीच सहयोग पुनः शुरु गर्न सम्झौता
इरान र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले सहयोग पुनः शुरु गर्न सम्झौतामा हस्ताक्षर गरेका छन् । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इजिप्टका विदेशमन्त्री बद्र अब्देलट्टी र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको काहिरास्थित संयुक्त पत्रकार सम्मेलनमा यो घोषणा गर्नुभएको हो । इरान र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानी सार्वभौमसत्ताको सम्मान गर्ने र इरानी जनताको सुरक्षाको रक्षा गर्ने तरिकाले आफ्नो सहयोग बढाउन सहमत भएका छन् ।
१०. पुनः शुरु भयो बीच वुहानबाट मस्कोको सिधा उडान
मध्य चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट रूसको राजधानी मस्कोको सिधा उडान पुनः शुरु भएको छ । जसले दुई देशहरू बीचको द्विपक्षीय आदानप्रदानलाई बढावा दिएको छ । चाइना साउदर्न एयरलाइन्सको उडान सिजेड ८००३ वुहानबाट २७१ यात्रुहरू लिएर प्रस्थान गरेको थियो । यो रुट एयरबस ए३५०–९०० विमानद्वारा हप्तामा दुई पटक आईतवार र मंगलवार वुहानबाट मस्को जाने तालिका छ ।
११. यमनमा इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ३५ पुग्यो
उत्तरी यमनमा हुथी नियन्त्रित क्षेत्रहरूमा इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । १३१ जना घाइते भएको हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधवार राति जनाएको छ । मन्त्रालयले धेरैजसो हताहत राजधानी सानामा भएको बताएको छ । जहाँ २८ जनाको मृत्यु भएको छ र ११३ जना घाइते भएका छन् । जसमध्ये धेरै पत्रकार छन् । उत्तरी प्रान्त अल–जवफमा सात जनाको मृत्यु भएको छ र १८ जना घाइते भएका छन् ।
१२. स्पेन अमेरिकी भन्सार शुल्कको प्रभाव कम गर्न तयार
स्पेनिश कम्पनीहरूले अगस्टमा इयु निर्यातमा परेको अमेरिकी भन्सार शुल्कको प्रभावलाई कम गर्ने उपायहरू खोजिरहेका छन् । रणनीतिहरूमा आयातलाई अन्य बजारहरूमा पुनर्निर्देशित गर्ने, सञ्चालनहरू स्थानान्तरण गर्ने र युरोपेली संघ (इयु) ले विश्वभरका क्षेत्रहरूसँग गरेको स्वतन्त्र व्यापार सम्झौताहरूको फाइदा उठाउने समावेश छ । - न्युज एजेन्सी नेपाल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij