२०८२ भाद्र २४ गते मंगलवार
१. संसदीय सुनुवाई समिति सभापति खतिवडाद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
संसदीय सुनुवाई समिति सभापति रामहरि खतिवडाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । सोमवार बिहान सभापति खतिवडाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । राज्य व्यवस्था तथा सुशासन समितिमा निजामति सेवा विधेयकमा छेडखानी गरेको आरोपमा संसदीय छानविन समितिले जिजम्मेवार ठहराएसँगै समिति सभापतिबाट राजीनामा दिनुभएका खतिवडा संसदीय सुनुवाई समितिको सभापति निर्वाचित हुनुभएको थियो ।
२. माईतीघरमा जेनजी पुस्ताको प्रदर्शन
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिवन्धको विरोधमा जेन–जी पुस्ताले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ । देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिवन्धको विरुद्धमा जेन–जी पुस्ताले प्रदर्शन गरेको हो । काठमाडौंको माईतीघर मण्डलामा भेला भइ उनीहरुले यतिबेला प्रदर्शन गरिरहेका छन् ।
३. दोस्रो खेल जित्दै आत्मविश्वास बढाउने लक्ष्यमा नेपाली टोली
बंगलादेशको मैत्रीपूर्ण खेलबाट सन्यास घोषणा गरेका भेट्रान स्ट्राइकर भरत खवासले मंगलवारको खेलमा जित निकाल्दै अन्तर्राष्ट्रिय करियरबाट सुखद् बिदाइ लिने लक्ष्य रहेको बताएका छन् । नेपालले घरेलु मैदानमा मंगलबार पाहुना टोली बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । पहिलो खेलमा गोलरहित बराबरी भएकाले दोस्रो खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यमा छन् ।
४. अन्तर्राष्ट्रिय समुदायद्वारा पूर्वी अफगानिस्तानका भूकम्प पीडितलाई राहत प्रदान
अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पका पीडितलाई अन्तर्राष्ट्रिय समुदायहरुले राहत प्रदान गरेका छन् । पूर्वी कुनार प्रान्तलाई तहसनहस पारेको छ । जसबाट २ हजार २ सय भन्दा बढीको ज्यान लिएको छ । ३ हजार ६ सय भन्दा बढी घाइते भएका छन् । अफगानिस्तानमा ओभरसिज चाइनिज एशोसिएशन कुनारका सबैभन्दा बढी प्रभावित परिवारहरूलाई सहायता प्रदान गरिएको हो । खास कुनार जिल्लामा आयोजित हस्तान्तरण समारोहमा – अफगानिस्तानका जनस्वास्थ्य र शहरी विकास र आवास मन्त्रीहरू, प्रान्तीय गभर्नर सहभागी हुनुहुन्थ्यो ।
५. इजरायली सेनाद्वारा गाजा शहरमा रहेको १५ तले टावर ध्वस्त
इजरायली सेनाले गाजा शहरमा रहेको १५ तले आवासीय टावर ध्वस्त पारेको छ । जुन एन्क्लेभमा आफ्नो विस्तारित सैन्य कारबाहीको एक भागको रूपमा अर्को गगनचुम्बी भवनलाई समतल पारेको एक दिन पछि हो । गाजाका बासिन्दाहरूले इजरायली युद्धक विमानहरूले गाजा शहरको पश्चिमी भागमा अवस्थित अल–सुसी टावरमा लगातार धेरै क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् । जसले गर्दा केही मिनेटमै यो भग्नावशेषमा परिणत भयो । शक्तिशाली विस्फोटहरूले वरपरका छिमेकीहरूलाई हल्लायो, नजिकैका घरहरू, पसलहरू र सडकहरू भारी क्षतिग्रस्त भएका छन् ।
६. चीनको युनानमा ग्लोवल साउथ मिडिया थिंक ट्याङ्क फोरम शुरु
२०२५ ग्लोवल साउथ मिडिया र थिंक ट्याङ्क फोरम शनिवार दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुनमिङमा शुरु भएको छ । यस कार्यक्रममा ११० देश र क्षेत्रका २६० भन्दा बढी मिडिया आउटलेट, थिंक ट्याङ्क, सरकारी निकाय र अन्तर्राष्ट्रिय संस्थाका करिव ५०० सहभागीहरू भेला भएका छन् । चीनले हालै प्रश्ताव गरेको ग्लोवल गभर्नेन्स इनिसिएटिभले ग्लोवल साउथलाई विश्वव्यापी शासन प्रणालीमा संयुक्त रूपमा सुधार गर्न महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने विश्वास छ ।
७. आचारसंहिता बनाएर सदाचार नीति कार्यन्वयन गर्नुपर्नेमा जोड
आचारसंहिता बनाएर सदाचार नीतिलाई कार्यन्वयन गर्न सांसदहरुले जोड दिनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको सोमवार बसेको बैठमा भएको राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथिको छलफलमा उहाँहरुले आचारसंहिता बनाउनुपर्नेमा जोड दिनुभएको हो । सांसद वामदेव गौतमले सदाचार निति अवलम्बन गरेको÷नगरेको निगरानी गर्ने पक्ष जनतालाई बनाउनुपर्ने बताउनु भयो । त्यसका लागि सदाचार नीति आचारसंहिता बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
८. आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन
प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकले उक्त निर्देशन दिएको हो । बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरुलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरु राख्न र गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च सर्तकता अपनाउन निर्देशन दिने निर्णय गरेको समिति सभापति सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।
९.केरा उत्पादनसँगै स्टोरमा पनि ध्यान दिन सुझाव
सांसदहरुले नेपालमा केरा उत्पादनमा आत्मनिर्भर बन्न जोड दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमवार बसेको बैठकमा सांसदहरुले बेमौसमी सिजनमा पनि स्थानीय उत्पादन पाईने व्यवस्था गर्न सुझाव दिएका हुन् । नेकपा (माओवादी केन्द्र)की सांसद मिना तामाङले व्यवसायिक हिसावले केरा उत्पादन हुने ठाउँ पहिचान गर्नुपर्ने बताउनु भयो ।
१०. विकास आर्थिक मामिला तथा सुशासन समितिबाट राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन पारित
राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदालाई सुझावसहित पारित गरेको छ । सोमवार बसेको समितिको बैठकले प्रतिवेदनलाई पारित गरेको हो । बैठकमा समित सभापति कमलादेवी पन्तले प्रतिवेदनलाई सुझावसहित पारित गरेको घोषणा गर्नुभएको थियो । सभापति पन्तले प्रतिवेदनलाई कार्यन्वयन गर्नको लागि गृहमन्त्री, प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
११. सामाजिक सञ्जाल प्रतिवन्धबारे गृहमन्त्रीः भोलि कुनै संस्थाले तिम्रो देशलाई मान्दैनाँै भन्दा हामी के भन्छौँ
गृहमन्त्री रमेश लेखकले नेपालमा काम गर्ने जुनसुकै संस्थाले नेपालको प्रचलित कानून मान्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आईतवार बसेको बैठकमा सामाजिक सञ्जाल प्रतिवन्धको कुरा उठेपछि उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जाललाई नेपालमा सूचिकरण हुन मात्रै सरकारले अनुरोध गरेको उल्लेख गनुभयो ।
१२. स्वदेशी किसानको संरक्षण तथा प्रोत्साहन हुने नीति बनाइ कार्यान्वयन गर्न कृषि समितिको निर्देशन
\संसदीय समितिले स्वदेशी किसान तथा व्यापारीको संरक्षण तथा प्रोत्साहन हुने खालको नीति बनाएर कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमवार बसेको बैठकले उक्त निर्देशन दिएको हो ।
१३. जेन–जी प्रदर्शनका कारण बिथोलियो राज्य व्यवस्था समितिको बैठक
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेन–जी पुस्ताको प्रदर्शनका कारण स्थगित भएको छ । नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरुसँग छलफलका लागि बोलाइएको बैठक जेन–जी प्रर्दशनपछि विकसित घटनाक्रमका कारण स्थगित भएको हो ।
१४. महान्यायाधिवक्तालाई वरिष्ठतम न्यायाधीश मल्लको जवाफः ‘सर्वोच्चको गलत व्याख्याको कारण राष्ट्रपति र उपराष्ट्रपति पदमा महिलाले भाग गुमाएको भन्नु गलत’
सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्चको गलत व्याख्याको कारण राष्ट्रपति र उपराष्ट्रपति पदमा महिलाले भाग गुमाएको भन्ने महान्यायाधिवक्ताको टिप्पणी गलत भएको स्पष्ट पार्नुभएको छ । रोल...
महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो स्पष्टिकरण दिनुभएको हो । उहाँले संविधान र सर्वोच्चको व्याख्याको कारण सर्वोच्चको फैसलाकै कारण महिलाले अवसर गुमाएको भन्न नमिल्ने बताउनु भयो ।
१५. सरकारले मिडियाप्रति नकारात्मक दृष्टिकोण राख्यो कि भनेर आशंका गर्नुपर्ने अवस्था छैनः प्रमुख सचेतक घिमिरे
नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मिडियाप्रति नकारात्मक दृष्टिकोण राखेको भनि आशंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । सोमवार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । दक्षिण एसियामै उत्कृष्ट मिडियाको अवस्था मुलुक नेपाल भएको उहाँको दाबी छ ।
१६. सर्वोच्च अदालतको गलत व्याख्याका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष पुगेः महानायाधिवक्ता वडाल
महान्यायाधिवक्ता रमेश वडालले सर्वोच्च अदालतको गलत फैसलाका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा महिला अधिकार खोसिएको टिप्पणी गर्नुभएको छ । महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै वडालले यस्तो टिप्पणी गर्नुभएको हो । सर्वोच्चको गलत व्याख्याका कारण राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै पदमा पुरुष पुगेको उहाँको भनाइ छ ।
१७. संसदीय सुनुवाई समिति सभापति खतिवडाको प्रतिवद्धताः गलत ढंगले आए संवैधानिक परिषद्को सिफारिस पनि अस्वीकार गरिन्छ
संसदीय सुनुवाई समितिमा निर्विरोध निर्वाचित रामहरी खतिवडाले गलत ढंगले आए संवैधानिक परिषद्को सिफारिस पनि अस्विकार गर्ने बताउनुभएको छ । संसदीय सुनुवाई समितिको सभापतिको शपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले कसैको डर, प्रभाव र दवावमा नपरी निष्पक्षताका साथ आफूले काम गर्ने पनि स्पष्ट पार्नुभयो । आफूले राज्य व्यवस्था समितिको सभापति हुँदा कुनै गल्ती नगरेको जिकिर गर्नुभयो । उहाँले देश र जनताको हितमा समर्पित भएर समितिका काम कारबाही अघि बढाउने बताउनु भयो ।
१८. एकै वर्षमा ८ अर्ब ५० करोड रूपैयाँ वैदेशिक लगानी भित्रियो
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी क्रमशः बढ्दै गएको छ । आर्थिक वर्ष २०८०÷८१ मा आठ अर्ब ५० करोड रूपैयाँ मात्रै वैदेशिक लगानी भित्रिएको छ । राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९÷८० को तुलनामा उक्त वर्ष ३६.१ प्रतिशतले वैदेशिक लगानी वृद्धि भएको हो । सो वर्ष वार्षिक ६ अर्ब रूपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो । आर्थिक वर्ष २०७९÷८० मा वार्षिक ६ अर्ब रूपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो । त्यसअघिको वर्ष हेर्ने हो भने आर्थिक वर्ष २०७८÷७९ मा १८ अर्ब ६० करोड रूपैयाँसम्म वैदेशिक लगानी भित्रिएको थियो ।
१९. सरकारले आज ८ अर्ब ५० करोड निक्षेप संकलन गर्ने
सरकारले सोमवार (आज) ८ अर्ब ५० करोड निक्षेप संकलन गर्ने भएको छ । ९१ दिने ट्रेजरी अन्र्तगत उक्त निक्षेप संकलन गर्न लागिएको हो । सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण संकलन गर्ने लक्ष्य राखेको छ । यसमा ट्रेजरी बिल्सअन्तर्गत १ खर्ब ३० अर्ब संकलन गर्ने लक्ष्य छ । सरकारले बैंकहरुमा लगानीयोग्य रकम अधिक भइरहेको अवस्थामा आन्तरिक ऋणलाई बढाउँदै लामो समयावधिको पनि ट्रेजरी बिल्स पनि निष्कासन गर्दै आएको छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
–न्यूज एजेन्सी नेपाल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij