२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । जेनजी प्रदर्शनका कारण शहर क्रमशः अस्तव्यस्त बनिरहेको छ । यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेल भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिने मानव अंग प्रत्यारोपणसम्बन्धी एक कार्यक्रममा भाग लिन ११ बजे त्यहाँ पुग्दैछन् ।
जेनजी प्रदर्शनमा स्ट्याण्डबाई राखिएका प्रहरी अहिले उनको ‘सवारी ड्युटी’ मा तैनाथ छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन् ।
उक्त केन्द्रमा मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ गरेका १५ सय बिरामी र उनीहरूको पत्यारोपणमा संलग्न चिकित्सकलाई सम्मान गर्ने कार्यक्रममा राष्ट्रपति पौडेल जाने भएका हुन् । उनी ११ बजे गएर १२ बजे फर्किने कार्यक्रम तय भएको छ ।
माइतीघर मण्डलाकेन्द्रित जेनजी प्रदर्शनमा सहभागीको संख्या क्रमशः बढिरहेको छ । संख्या बढेसँगै सवारी आवागमन प्रभावित हुन थालेको छ । प्रदर्शनका कारण माइतीघर–नयाँ बानेश्वर सडक खण्डलाई डाइभर्सन गर्ने तयारीमा ट्राफिक प्रहरी जुटेको छ ।
यस्तो स्थितिमा राष्ट्रपतिको ‘सवारी’ का कारण महाराजगञ्ज–रत्नपार्क सडक खण्ड पनि प्रभावित हुँदैछ । राष्ट्रपति ११ बजे भृकुटीमण्डप पुग्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार उनी १०ः४५ मा शीतल निवासबाट निस्कने र १५ मीनेटभित्र भृकुटीमण्डप पुग्ने तालिका छ ।
त्यस अवधिभर उक्त सडकमा अन्य सवारी साधन चल्न दिइने छैन । प्रहरीस्रोतका अनुसार १५ मिनेटको उक्त सडक जामले उपत्यकाभरिको ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij