२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ता विधि, कानुनबारे स्पष्ट छन् भन्ने आफूलाई लागेको बताएका छन् ।
सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्डका बीच जेनजी युवाहरूले सोमबार सडक प्रदर्शनको घोषणा गरेपछि प्रधानमन्त्री ओलीले कसैले विधि, कानुन उल्लघंन गर्न नपाउने टिप्पणी गरेका हुन् ।
नयाँ पुस्ता राष्ट्रियताप्रति सचेत, अनि विधि कानुनबारे स्पष्ट छ भन्ने अपेक्षा आफूले राखेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले भने, ‘जेनजीले आफ्ना कुरा राख्न पाउँछ, पाउनुपर्छ । देशको नीति, नियम अनि राष्ट्रिय हितबारे उसले स्पष्ट धारणा बनाएको छ भन्ने म ठान्छु ।’
साथै उनले आफू बन्द–हड्ताल वा प्रतिबन्धको पक्षधर नभएको दाबी गर्दै सामाजिक सञ्जाल बन्द गराइएको सन्दर्भको बचाउ गरे । उनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको उद्देश्य नरहेको तर्क गर्दै दर्ताका लागि आह्वान मात्रै गरिएको बताए ।
सरकारले नेपालमा दर्ता नभएका फेसबुकसहितका २६ सामाजिक सञ्जालमाथिको पहुँच रोक्न सेवा प्रदायकहरूलाई निर्देशन दिएपछि आलोचना भइरहेको छ ।
दर्ताका लागि दिएको एक साताको म्याद नाघेको भन्दै सरकारले ती सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयको विरोधमा जेनजी पुस्ता सडक आन्दोलनमा उत्रिने घोषणाका बीच प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij