२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ पातलेपोखरामा श्रीमतीको हत्या गरेर श्रीमान्ले भान्छामै शव गाडेको खुलेको छ । अनुसन्धानमा खटिएको प्रहरीले महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको हो ।
प्यूठानको नौबहिनी गाउँपालिका-१ स्याउलीबाङ घर भएका ३६ वर्षीय किरण गुरुङ विगत आठ वर्षदेखि पातलेपाखरामा घर खरिद गरेर बस्दै आएका थिए । उनी ३४ वर्षकी श्रीमती सुमित्रा कुमाल गुरुङ र ९ वर्षकी छोरी सरुसँगै बस्दै आएका थिए । तर पछिल्लो केही दिनदेखि सुमित्रा भने बेपत्ता भइन् । वरपर छरछिमेक माइती पक्षले उनलाई नदेखेपछि सुमित्रा हराएकाले खोजी गरिदिन भन्दै १६ भदौमा प्रहरी चौकी बाल्कोटमा मौखिक जानकारी गराएका थिए ।
अनुसन्धान गर्दा उनकै घरको भान्छा कोठामा गाडेको अवस्थामा सुमित्राको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख तथा डीएसपी चक्र मल्लले बताएका छन् । अनुसन्धानको क्रममा भदौ १२ गते राति श्रीमान्श्री-मती विवाद भएको त्यसपछि हत्या गरिएको खुलेको छ ।
विवाद भएपछि सोही रात किरणले श्रीमती सुमित्रालाई बाँसको भाँटा र हंसियाले हानेर हत्या गरेको पाइएको छ । हत्यापछि कम्बलले पोको पारेर आफ्नै घरको भान्छाकोठामा खाल्डो खनेर शव गाडिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । घरभित्र गन्ध आएपछि उत्खनन् गरेर हेर्दा सुमित्राको शव भेटिएको डीएसपी मल्लले बताएका छन् ।
श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । किरण र सुमित्रा दुवैको दोस्रो विवाह भएको प्रहरीले बताएका छन् । किरणको पूर्वश्रीमतीबाट २ छोरी र सुमित्राको पूर्वश्रीमान्बाट ३ छोरी रहेको छ ।
श्रीमतीको हत्या गरेर किरण घरमै बसेका थिए । कसैलाई खबर गरे छोरीलाई समेत मार्ने भनेर धम्की दिएकाले ९ वर्षकी छोरीले घटना थाहा पाउँदा समेत कतै भन्न नसकेको पाइएको एक अनुसन्धान अधिकृतले बताएका छन् ।
प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको बाँसको लाठ्ठी, हंसिया बरामद गरेको छ । त्यसैगरी शव गाड्न प्रयोग भएको गैंची, बेल्चा, सानो कोदालो बरामद गरेको छ । ‘ओरेन्ज’ लेखेको मदिराको खाली बोत्तल र भरी बोत्तल पनि बरामद भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij