Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबिच भेटवार्ता, अर्थतन्त्रलगायतका विषयमा छलफल

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबिच भेटवार्ता, अर्थतन्त्रलगायतका विषयमा छलफल


  • 1.3K
    Shares

    • images
    अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबिच भेटवार्ता,  अर्थतन्त्रलगायतका विषयमा छलफल

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष  जोहानेस जुटबिच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, सहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण  लगायतका विषयमा छलफल भएको हो ।

    अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रक्रियामा सुधार गरेको बताएका छन् ।  उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसिप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादात्म्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताएका छन् ।  

    अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी गराउँदै विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने बताएका छन् । उनले विधेयकको  लक्ष्य अनुसार अघि बढ्न विश्व  बैंकबाट सहयोगको अपेक्षा गरेका छन् । 

    विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी विश्व बैंकले सहयोग गर्ने बताएका छन् भने उनले विश्व बैंकले लुम्बिनी, काठमाडौँ उपत्यकाको सहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि सहयोग गर्ने भन्दै निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नु पर्ने धारणा व्यक्त गरेका छन् । 

    उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकहरू  सुधार हुनु सकारात्मक भएको उल्लेख गर्दै नेपालका लागि लगानी अझ बढाउन जरुरी भएको बताएका छन् । उनले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कानुन बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका लागि थप नयाँ क्षेत्रहरू पहिचान हुन सक्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्‍याउने बताएका छन् । 

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - १३:२७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij