Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

दसैँ लगत्तै सवारी चालक अनुमतिपत्र वितरण गर्ने तयारी, ५ स्थानमा मेसिन जडान गरिँदै

दसैँ लगत्तै सवारी चालक अनुमतिपत्र वितरण गर्ने तयारी, ५ स्थानमा मेसिन जडान गरिँदै


  • 449
    Shares

    दसैँ लगत्तै सवारी चालक अनुमतिपत्र वितरण गर्ने तयारी,  ५ स्थानमा मेसिन जडान गरिँदै
    images

    काठमाडौं । बागमती प्रदेश सरकारले आगामी दसैँ लगत्तै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेर वितरण गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ स्थानबाट लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको हो ।

    प्रदेशबाटै ‘क्यूआर कोड’ सहितको लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको मन्त्रालयले जानकारी दिएको छ । लाइसेन्सका लागि वर्षौँ कुर्नुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य गर्ने उद्देश्यले प्रदेशका ५ स्थानबाट सेवा दिने तयारी भइरहेको मन्त्रालयकी प्रवक्ता सुनिता गजुरेलले बताइन् ।

    यसअघि चालक अनुमतिपत्र यातायात व्यवस्था विभागमार्फत मात्र छापिँदै आएको थियो । उक्त सिस्टम प्रदेशमै ल्याएर लाइसेन्स छपाइ गरिने प्रवक्ता गजुरेलको भनाइ रहेको छ । उनका अनुसार लाइसेन्स छपाइ सेवा विभागमा मात्र सीमित हुँदा चाप बढेसँगै सेवाग्राहीले समयमै लाइसेन्स पाउन कठिन भएको थियो ।

    यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार करिब ३० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी रहेको छ । त्यसमध्ये बागमती प्रदेश अन्तर्गतमात्र १८ लाख लाइसेन्स छाप्न बाँकी रहेको मन्त्रालयको अनुमान छ ।

    विगत तीन वर्षअघि ट्रायल पास गरेका र नवीकरणका लागि निवेदन दिएका सेवाग्राहीले पनि लाइसेन्स पाउन सकेका छैनन् । केन्द्र सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०८० माघ ७ गते प्रदेशहरूले पनि लाइसेन्स छाप्न सक्ने निर्णय गरेअनुसार बागमती प्रदेशले सेवा सञ्चालन गर्न लागेको हो ।

    मन्त्रालयले इटालियन कम्पनीको मेसिन खरिद गरेको सूचना अधिकारी विनोद कुमार भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार ५ करोड ४० लाख रुपैयाँमा ५ वटा मेसिन खरिद गरेर जडानको क्रममा छन् । गत चैतमा मन्त्रालयले टेण्डर आह्वान गरेपछि मालिका कर्पोरेसन काठमाडौँले सम्झौता गरेर मेसिन सप्लाइ गरेको उनको भनाइ छ ।

    प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार प्रदेशबाट लाइसेन्स छपाइ र वितरण कार्य सुरु भएपछि सेवाग्राहीले सहज सुविधा पाउने छन् ।

    ५ वटा मेसिनबाट प्रतिघण्टा ७५० लाइसेन्स छाप्नसक्ने मन्त्री थापाले जनाए । प्रत्येक प्रिन्टरबाट प्रतिघण्टा १५० वटा लाइसेन्स छापिने जानकारी उनले दिए । लाइसेन्स छपाइ र वितरणका लागि मन्त्रालयले पूर्वाधारको व्यवस्थापन गरिरहेको उनको भनाइ छ । मेसिन सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति मन्त्रालयसँगै तयारी अवस्थामा राखेको उनले बताएका छन् ।

    हालसम्म छपाइ गर्न बाँकी १८ लाख लाइसेन्स यातायात विभागले व्यस्थापन गर्ने र चालु आर्थिक वर्षदेखिका विवरणमा प्रदेशले काम गर्ने मन्त्री थापाले बताएका छन् । खरिद गरिएका ५ मेसिन लाइसेन्स सेवा सञ्चालन भइरहेका यातायात कार्यालयहरू काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौंडामा जडान गरिने उनको भनाइ छ ।

    स्मार्ट कार्ड खरिद गर्न ६ करोड बजेट
    मन्त्रालयले ‘क्यूआर कोड’सहितको स्मार्ट कार्ड खरिदका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको छ । तत्काल छपाइ सुरु गर्न कोटेसनमार्फत केही कार्ड खरिद गरिने मन्त्री थापाले बताएका छन् ।

    सो पश्चात लाइसेन्स छपाइलाई निरन्तरता दिन स्मार्ट कार्ड खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ । टेण्डरको प्रक्रियामा केही समय लाग्ने भएकाले तत्काल काम थाल्न केही कार्ड कोटेशन मार्फत खरिदको प्रक्रिया अघि बढाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

    लाइसेन्स छपाइका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८२\०८३) मा ६ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटले आवश्यक कार्ड खरिद गर्ने र अपुग भएका थप बजेट व्यवस्थापन गर्ने मन्त्री थापाको भनाइ छ ।

    यसअघि पनि २०८१ चैतमा स्मार्ट कार्ड खरिद गर्न टेण्डर आह्वान गरिएको थियो । प्राविधिक त्रुटिका कारण सो टेण्डर रद्द गरिएको मन्त्रालयले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - १०:४६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij