२०८२ भाद्र १६ गते सोमवार
राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) डा. लेखजंग थापालाई बहुविवाहको उजुरीबीच पनि रूपन्देही– ३ को उपनिर्वाचनमा उम्मेदवार बनाएको छ। आइतबार रास्वपाले लेखजंगलाई उम्मेदवार बनाएको घोषणा गरेको हो।
लेखजंगले बहुविवाह गरेको भन्दै रास्वपा सचिवालय तहका केही नेताहरूले पार्टीमा कुरा उठाएका थिए। यो कुरा नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई पनि जानकारी गराएका थिए।
रास्वपाका एक नेताका अनुसार रविले पनि लेखजंगसँग उनको बहुविवाहबारे सोधेका थिए। जबाफमा लेखजंगले आफ्नो एक श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको भनेको ती नेताले बताए।
यसबारे पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले लेखजंगले दुइटा बिहे गरेको तर पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर मात्रै अर्को बिहे गरेको बताए।
'उहाँको दोस्रो बिहे भएको रहेछ। तर पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेर मात्रै विवाह गर्नुभएको रहेछ। पहिलो पत्नीबाट जन्मिएको बच्चा लेखजंगजीसँगै रहेछ,' उनले भने।
लेखजंगले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका हुन् या होइनन् भन्नेबारे यकिन भने छैन। लेखजंगलाई नजिकबाट चिन्ने कतिपय डाक्टरहरूले उनी दुवै श्रीमतीसँग बस्दै आएको बताएका छन्। उनको सम्बन्ध विच्छेद पनि नभएको ती डाक्टरहरूले दाबी गरेका छन्।
एउटी श्रीमतीलाई डिभोर्स दिएर मात्र अर्को बिहे गरेको भन्ने महामन्त्री कविन्द्रको दाबीलाई लेखजंग स्वयंले पाँच वर्षअघि आफ्नै युट्युब च्यानलमा अपलोड गरेको भिडिओ र उनका श्रीमतीहरूले हालसालै बनाएका टिकटक भिडिओहरूले पुष्टि गर्दैनन्।
लेखजंगले पाँच वर्षअघि 'सुपर थापा फ्यामिली' भनेर युट्युबमा भिडिओ अपलोड गरेका छन्। सो भिडिओमा एकसाथ उनका जेठी र कान्छी श्रीमती देखिएका छन्।
लेखजंगका श्रीमतीहरू सुलोचना घिमिरे (पहिलो) र नुमा शर्मा (दोस्रो) ले सामाजिक सञ्जालहरूमा राखेका फोटा र भिडिओमा पनि उनीहरू तीनै जना सँगै देखिन्छन्। चाडवाडदेखि अन्य समयमा पनि उनीहरूले राखेका फोटाहरूले उनीहरू अलग भएको जस्तो देखिँदैन।
नुमाले एक महिनाअघि मात्र सामाजिक सञ्जालमा हालेको फोटोमा पनि उनीहरू सँगै छन्। यी सबै हेर्दा उनले सम्बन्ध विच्छेद नगरी बहुविवाह कायमै राखेको देखिन्छ। यसबारे हामीले लेखजंगसँग पनि कुराकानी गर्न खोजेका थियौं। तर उनीसँग सम्पर्क हुन सकेन।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ अञ्चलपुरका लेखजंगलाई रास्वपाले गत शुक्रबार र शनिबार सञ्चालन गरेको प्राइमरी इलेक्सनको मत र अरू प्रक्रियाका आधारमा उम्मेदवार बनाउने घोषणा गरेको हो।
लेखजंगले उम्मेदवार छनोटमा प्रक्रियामा सहभागी हुँदा पार्टीको निर्देशन विपरीत चलाखी गरेको पनि आरोप लागेको छ। उनले पार्टीको बैठकमा गोप्य रूपमा भिडिओ रेकर्ड गर्न मिल्ने चस्मा लगाएर गएका थिए।
रास्वपाका एक नेताका अनुसार २०८२ भदौ ३ गते चुनावी उम्मेदवारका नौ जना आकांक्षीको विशेष बैठक बसेको थियो। एकअर्कामाथि विश्वास र भरोसा बढोस् भनेर त्यस्तो बैठक गरिएको थियो।
बैठकमा मोबाइल लैजान निषेध थियो। सबै उम्मेदवारले मोबाइल बाहिर लकरमा राख्ने सहमति भएको थियो। लेखजंगले पनि लकरमै मोबाइल राखेर बैठक स्थल प्रवेश गरेको ती नेताले बताए।
तर त्यस दिन उनले भिडिओ रेकर्ड गर्न मिल्ने चस्मा लगाएर कोठामा गएका थिए। त्यही चस्माको माध्यमबाट बैठकको भिडिओ रेकर्ड गरेको अरू आकांक्षीले थाहा पाएको रास्वपाका एक नेताले बताए। त्यसपछि उनलाई सो चस्मा खोल्न लगाइएको थियो।
आठ जना उम्मेदवारले लेखेको उजुरीमा पार्टीको जिम्मेवार व्यक्तिले बैठकको अनुशासन पालन नगरेको र गोप्य चुनावी रणनीति र संवाद रेकर्ड गरेको भनिएको छ। पार्टी विधान बमोजिम आवश्यक अनुसन्धान गरी अनुशासनात्मक कारबाही गर्नुपर्ने उल्लेख छ।
उजुरीमा '२०८२ भदौ ३ का दिन रास्वपाको रूपन्देही क्षेत्र नम्बर ३ को पार्टीका ९ जना आकांक्षीको सर्वसहमतिले बसेको विशेष बैठकमा सबै जनाको मोबाइल लगायत सबै उपकरण बैठक बाहिर लकरमा राख्ने सहमति पालन गरी बैठक बसिएको थियो। सो अवस्थामा एक सदस्य, आकांक्षी डा. लेखजंग थापाले गोप्य रूपमा क्यामरा सहितको चस्मा प्रयोग (क्यामरा चालु अवस्थामा अडिओ, भिडिओ मोडमा) राखिएको पाइएकाले बैठकको अन्त्यतिर प्रमाण कैद गर्न उक्त चस्माको फोटो र भिडिओ बनाएको र बैठकको गोपनीयता भंग गरी, पार्टीको जिम्मेवार व्यक्तिले बैठकको अनुशासन पालन नगरेको गोप्य चुनावी रणनीति र संवाद रेकर्ड भएको' उल्लेख छ।
उजुरीमा अनुसन्धान गरी कारबाहीको पनि माग गरिएको छ।
उजुरीमा भनिएको छ, 'त्यसको चरम दुरूपयोग भई पार्टी जीवनलाई समेत गम्भीर क्षति पुग्ने, बाँकी सदस्यहरूको व्यक्तिगत जीवन र राजनीतिक भविष्यमा समेत गम्भीर प्रभाव पार्ने देखिएको हुनाले यस्तो गैरराजनीतिक चरित्रलाई हाम्रो पार्टी आचरण र विधानको प्रतिकूल भएको पार्टी विधान बमोजिम आवश्यक अनुसन्धान गरी अनुशासनात्मक कारबाहीका लागि तपसिलमा रहेको सदस्यहरूले जोडदार माग गर्छौं।'
आकांक्षी सुलभ खरेलको अध्यक्षतामा भएको सो बैठकमा अरू आकांक्षीहरू मधुप्रसाद अर्याल, जीतबहादुर गुप्ता, रचना क्षेत्री, ज्ञानु पौड्याल, कुसुम महर्जन, पार्थिवेन्द्र उपाध्याय, पुनमकुमारी अग्रवाल सहभागी थिए। उक्त उजुरी उल्लेख गरिएको (माइन्युट) मा आठै जना आकांक्षीको हस्ताक्षर छ। र, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश सभापति र रूपन्देही जिल्ला सभापतिलाई पनि बोधार्थ दिइएको छ।
उम्मेदवार छनोटको विषयमा उपसभापति डा. स्वर्णिम वाग्ले र प्रवक्ता मनीष झा भने मौनजस्तै थिए।
'स्थानीय कमिटी, पार्टी सदस्यहरूको समर्थनको हिसाबले ज्ञानु पौड्याल पनि बलियो थिइन्। सुलभ खरेलको पक्षमा पनि राम्रै माहौल थियो। तर, कार्यवाहक सभापति र प्रदेश इन्चार्ज एवं चुनावी कमान्डर रूचि लेखजंग थापातिरै देखिएपछि सचिवालयले त्यही निर्णय गर्यो,' ती नेताले भने।
यसअघि लेखजंग, २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) तर्फबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसदको सूचीमा थिए। उनको नाम अहिले पनि उक्त पार्टीले निर्वाचन आयोगमा पेस गरेको अन्तिम बन्द सूचीको नवौं नम्बरमा छ।
लेखजंग समानुपातिकबाट आफ्नो नामै नहटाइ प्रतिस्पर्धाको दौडमा सामेल भएका कतिपयले बताएका छन्। उनको नाम समानुपातिकको सूचीबाट हटे, नहटेको भने यकिन छैन। लेखजंगकी कान्छी श्रीमती नुमा शर्मा पनि नाउपाकै कोटाबाट लुम्बिनी प्रदेश योजना आयोगको सदस्य भएकी थिइन्। श्रोतः सेतोपाटी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij