२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई आकर्षक सुविधा दिनसक्ने बाटो खुला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै जारी गरेको ‘सूचना प्रविधि प्रणालीको विकास तथा परामर्श सेवाको लागत अनुमान सम्बन्धी नर्म्स, २०८२’ मा अब दक्ष आइटी अधिकृतहरूले मासिक २ लाखसम्म तलब पाउने बाटो खोलेको हो ।
लामो समयदेखि सरकारी निकायहरूमा न्यून तलब र सुविधाका कारण दक्ष आइटी जनशक्ति टिक्न नसकेको गुनासो थियो भने सोही कारण सरकारी सेवामा आईटी अफिसर नटिक्ने अवस्था रहँदै आएको थियो ।
यसै समस्यालाई सम्बोधन गर्न सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२ ले दिएको अधिकार प्रयोग गरी यो मापदण्ड नर्म्स ल्याइएको मन्त्रालयले जानकारी दिएको छ ।
यो नर्म्सले सार्वजनिक निकायहरूले विकास गर्नुपर्ने सफ्टवेयर प्रणालीको प्रकृतिअनुसार आवश्यक पर्ने जनशक्तिको शैक्षिक योग्यता, अनुभव र पारिश्रमिकको स्पष्ट निर्धारण गरिदिएको छ। यसले गर्दा परामर्श सेवा लिँदा वा सफ्टवेयर विकास गर्दा लाग्ने खर्चको अनुमानमा एकरूपता आउनेछ र लागत अनुमान अझ यथार्थपरक हुने भएको छ।
नयाँ नर्म्स अनुसार सबैभन्दा उच्च पारिश्रमिक परियोजना प्रबन्धक वा टिम लिडरलाई निर्धारण गरिएको छ । सूचना प्रविधिमा स्नात्तकोत्तर र ५ वर्षको न्यूनतम अनुभव भएका व्यक्तिले मासिक २ लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् भने सूचना प्रविधिमा स्नातक गरी ५ वर्षको अनुभा भएका एसओसी विश्लेषक, डिजिटल फरेन्सिक विश्लेषक, जोखिम जासुसी विशेषज्ञ मासिक १ लाख ७२ हजारसम्म तलब निर्धारण गर्न सकिने छ ।
त्यस्तै सूचना प्रविधिमा स्नातक र सम्बन्धित प्रमाणीकरण सहित ५ वर्षको अनुभव भएका सिस्टम आर्किटेक्ट तथा विश्लेषकका लागि मासिक १ लाख ६० हजार, सोही योग्यता भएका सिनियर डाटाबेस डिजाइनर, सिनियर सफ्टवेयर–वेभ–एन्ड्रोइड डेभलपरका लागि मासिक १ लाख ४० हजार रुपैयाँ पारिश्रमिक निर्धारण गर्न सकिनेछ ।
त्यस्तै, ५ वर्ष र ३ वर्ष (एपीआई) को अनुभवका लागि मासिक १ लाख २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । २ वर्षसम्म अनुभव भएका क्लाउड र इन्फास्ट्रक्चर एक्सर्ट, एपीआई डेभलपर जोखिम मापक, इथिकल ह्याकर, एप्लिकेसन सेक्युरिटी इन्जिनियर तथा थ्रेट एनालिस्टलाई १ लाख १० हजार तलब निर्धारण गरिएको छ ।
त्यसबाहेक सूचना प्रविधिमा स्नातक र सम्बन्धित प्रमाणीकरण सहित ३ वर्षको अनुभव भएका इन्फरमेसन सेक्युरिटी अफिसर र एसओसी एनालिस्टका लागि मासिक १ लाख ५ हजारसम्म तलब तोक्न सकिनेछ ।
डाटाबेस एडमिनिस्ट्रेटर, क्वालिटी एश्योरेन्स एनालिस्ट, सफ्टवेयर टेस्टर, आइटी अडिटर, सिस्टमरनेटवर्क एडमिनिस्ट्रेटर, जुनियर डेभलपर जस्ता अन्य विभिन्न पदहरूका लागि पनि आकर्षक तलबको व्यवस्था गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij