२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा जाने भएका छन्। ओली पाँच दिने चीन भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको पाँच दिने चीन भ्रमणको तालिका सार्वजनिक गरेको छ।
जसअनुसार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तियानजिनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी भदौ १६ गते तियानजिनमा हुने एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनका दौरान प्रधानमन्त्री ओलीले विश्वका अन्य नेताहरूसँग साइडलाइन वार्तासमेत गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नेछन् भने त्यहाँ प्रधानमन्त्री ओलीले भदौ १७ गते चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने छन्।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जापानविरुद्धको युद्धमा विजयी भएको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीको भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij