२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा. लि.द्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरेको छ ।
सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा जस्तो अखाद्य पदार्थ फेला परेको थियो । मापदण्ड विपरीत रहेकोले महानगरले २ लाख रुपैयाँ जरिवाना गरेको हो ।
भदौ ४ मा उपभोक्ता स्वयम आफै आएर महानगर प्रहरी बलमा मदिरामा झिँगा भेटिएकोले गुनासो गरेका थिए । विभागले उक्त मदिराको नमुना सङ्कलन गरी भौतिक जाँच गरेको थियो । जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको छ ।
काठमाडौै महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ को दफा १०(३०९ढ) अनुसार यो कार्य अनुचित व्यापारिक गतिविधि मानिएको छ। साथै, ऐनको दफा २९(घ) र दफा ३०(१०९ख) बमोजिम धनुषा डिस्टिलरी प्रा. लि.ले कानुन उल्लङ्घन गरेको ठहर गरिएको विभागले जानकारी दिएको छ ।
महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार, जरिवाना रकम काठमाडौं महानगरपालिकाको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेस गर्नु पर्ने छ ।
महानगरले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बजारमा बिक्री वितरण हुने सबै खाद्य तथा पेय पदार्थको गुणस्तर जाँचलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij