२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या भइरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रचण्डले माओवादी संघर्षलाई सामाजिक रुपान्तरणको मुख्य वाहकका रुपमा बुझ्न आग्रह गरे ।
उनले भने, ‘जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै छ । तर यो आन्दोलन लोकतन्त्र, गणतन्त्र र सामाजिक रुपान्तरणको मुख्य वाहक हो भन्ने कुरा सबै दल र समाजले आत्मसात् गर्न आवश्यक छ ।’
नेपालमा माओवादी संघर्ष कम्युनिष्ट नेताहरू मार्क्स, एंगेल्स, लेनिन र माओका ग्रन्थ पढेर मात्रै सुरु नभएको उनले बताए । नेपालकै विगतको विद्रोह र आन्दोलनहरूको गहिरो अध्ययनका आधारमा युद्ध थालिएको उनको भनाइ छ ।
‘लखन थापादेखि भीमदत्त पन्त, झापा विद्रोहदेखि किसान संघर्षहरूसम्मको इतिहास अध्ययन गरेर नै रणनीति तयार भएको थियो । त्यसैले जनयुद्ध सिङ्गो राज्य शक्ति र अन्तर्राष्ट्रिय शक्तिको दबाबमा पनि दबिएन, जनताले निरन्तर साथ दिए,’ उनले भने । प्रचण्डले संसदीय अंकगणितका कारण माओवादी केन्द्रको संघर्ष कठिन भएको दाबी गरे ।
‘यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, शहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्यो । संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ,’ उनले भने ।
७५३ वटै पालिकामा माओवादी जनयुद्धका संघर्षका गाथा र योगदानहरू लिपिबद्ध गर्ने अभियान चलाउनुपर्ने उनको तर्क छ । कमजोरी भए पनि आत्मालोचना र सुधार गर्ने परम्परा माओवादीमा मौलिक रुपमै रहेको दाबी उनले गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij