२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । सरकारले उखु किसानहरूलाई प्रोत्सहान, अनुदान बापतको रकम निकासा गरेको छ। अर्थ मन्त्रालयले यसबापत ७५ करोड ४९ लाख ३८ हजार २सय ४० रुपैया निकासा गरेको हो। निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानको बैंक खातामार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषदको बैठकले यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाई गरेको थियो। यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्।
यसअघि उखु किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन स्वरूप पाउँदै आएका थिए। कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन मन्त्री परिषदमा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था , आवश्यकताका आधारमा ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको दाबी गरेको छ।
यसै बीच काठमाडौंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधि बीच सिहंदरबारस्थित मन्त्रालयमा वार्ता भएको छ। वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह , मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी छन् भने उखु किसानका तर्फबाट श्यामबाबु राय लगायत सहभागी छन्।
यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij