२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । अर्थ मन्त्रालय मातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर गरिएको छ ।
गत सातामात्र अर्थ मन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरूको सरुवा गरिएको थियो भने फेरि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै इच्छामा शाखा अधिकृतको पनि व्यापक रूपमा जिम्मेवारी हेरफेर गरिएको हो ।
रसुवागढी भन्सार कार्यालयमा कार्यरत रवीन्द्र प्याकुरेललाई आन्तरिक विभाग मातहतका कार्यालयमा ल्याइएको छ । ठुला करदाता कार्यालयका ललितपुरमा कार्यरत निर्मलकुमार मैनालीलाई राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगमा पठाइएको छ ।
यस्तै अन्य दर्जनौँ अर्थका अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो । यसअघि सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर भएको थियो ।
यो सरकार बनेको १ वर्ष पुग्दै गर्दा अर्थमन्त्री पौडेलले भन्सार विभागमा एक वर्षमा चार जना महानिर्देशक फेरेका छन्।
मन्त्री पौडेलले आफैँले महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाए । भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको रूपमा कार्यरत श्याम भण्डारीलाई महानिर्देशक बनाए ।
मन्त्री पौडेलका विश्वासपात्र मानिने भट्टराईको पनि ६ महिनामै सरुवा गरिएको छ । अहिले उनलाई मन्त्रालयमा तानिएको छ भने भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाएका पौडेलले मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी टङ्कप्रसाद पाण्डेलाई ल्याएका छन् ।
अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरेका छन् भने सहसचिव टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij