Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

कवाडी व्यवसायीले काठमाडौं महानगर घेर्दै, अन्यायपूर्ण ज्यादती बन्द गर्न माग

कवाडी व्यवसायीले काठमाडौं महानगर घेर्दै, अन्यायपूर्ण ज्यादती बन्द गर्न माग


  • 1.5K
    Shares

    कवाडी व्यवसायीले काठमाडौं महानगर घेर्दै, अन्यायपूर्ण ज्यादती बन्द गर्न माग

    काठमाडौं ।  विगत दुई वर्षदेखि काठमाडौं महानगरपालिकाले आफ्नो व्यवसायमाथि निरन्तर दमन गरेको भन्दै कवाडी व्यवसायीहरूले महानगरपालिकाको कार्यालय घेराउ गर्ने घोषणा गरेका छन् ।

    कवाडी व्यवसायी समाज नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै महानगरले सञ्चालन गरिरहेको ’अन्यायपूर्ण ज्यादती’ विरुद्ध  आजदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् । 

    आज साढे १२ बजे  व्यवसायी तथा मजदुरहरूले महानगरपालिकाको कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका छन् । उनीहरूले महानगर प्रहरीले व्यवसायी तथा सङ्कलक मजदुरहरूमाथि कुटपिट गर्ने, सामान जफत गर्ने, संरचना भत्काउने र शारीरिक तथा मानसिक चोट पुर्‍याउने जस्ता अमानवीय कार्य गरेको गम्भीर आरोप लगाएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘महानगर प्रहरीको कुटपिटका कारण कवाडी सङ्कलक र मजदुरको टाउको फुट्ने, अङ्गभङ्ग हुने, र घोर मानसिक त्रास सिर्जना हुने घटना बारम्बार दोहोरिँदै आएको छ ।’  महानगर प्रमुख बालेन्द्र शाहले गरिब, श्रमिक र साना व्यवसायीलाई नियोजित रूपमै काठमाडौंबाट हटाउन खोजेको  उनीहरूको आरोप छ । 

    उनीहरु व्यवसायी र मजदुरमाथि भइरहेका कुटपिट, अपहरण र संरचना भत्काउने जस्ता कार्य तत्काल रोक्न माग गरेका छन् । यस्ता ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने र व्यवसायी तथा मजदुरको जिउधनको सुरक्षाका लागि सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने उनीहरूको भनाइ छ । 

    महानगरपालिकाले अव्यवस्थित कवाडी संकलन केन्द्रहरू हटाउने अभियान चलाउँदै आएपछि व्यवसायी र महानगरबिच लामो समयदेखि तनाव सिर्जना हुँदै आएको छ । व्यवसायीहरूले आफूहरूले फोहोरलाई कच्चा पदार्थमा परिणत गरेर महानगरलाई सफा राख्न मद्दत गरिरहेको बताउँदै आएका छन् भने महानगरले दर्ताविहीन र अव्यवस्थित व्यवसाय हटाउनु आफ्नो जिम्मेवारी भएको बताउँदै आएको छ ।

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - ११:३१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij