Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज यी ६ जिल्लामा सार्वजनिक बिदा

आज यी ६ जिल्लामा सार्वजनिक बिदा


  • 1.2K
    Shares

    • images
    आज यी ६ जिल्लामा सार्वजनिक बिदा
    images

    दाङ । पश्चिम तराईका थारू समुदायका मानिसले आज (भदौ ८) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो उनीहरूका निम्ति  महत्त्वपूर्ण पर्व हो ।

    शुक्रबार (भदौ ६) राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन उक्त समुदायमा छ ।

    घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार, रोटी पकाइसकेपछि त्योसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका निम्ति (अग्रासन) छुट्ट्याइने परिकार छुट्ट्याई बनाइएका परिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ ।

    “अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दुहरूको तिजजस्तै महत्त्वपूर्ण छ । हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि पानी समेत नखाई व्रत बस्छन्,” उनले भनिन्, “थारू समुदायमा यो पर्वको छुट्टै महत्त्व छ ।”

    व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्ट्याई अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात, तरकारीको अग्रासन दिने गरिएको घोराही उपमहानगरपालिका–३ का  सुरज चौधरीले बताए ।

    “यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्छौँ, यो पर्व कुसेऔँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ,” उनले भने ।

    उनका अनुसार, आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्‍याउने गरिन्छ ।

    पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अटवारी पर्व मनाउने प्रचलन छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारू संस्कृतविद् अशोक चौधरी बताउँछन् । अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ ।

    यो पर्व दाङका थारू राजा दंगीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारू राजा दंगीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाण्डव र द्रौपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दंगीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर भीम भोकै पेटमा पानी समेत नखाई उनको पक्षमा लडेका थिए । भीमले राजा दंगीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । भीमजस्तै बलियो हुनका निम्ति पानी समेत नखाई थारू समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।

    यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अटवारी पर्वका अवसरमा आज सर्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।

    थारू समुदायको बसोबास बढिरहेका दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र  पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो ।

    प्रकाशित मिति :भाद्र ८ २०८२ आइतवार - ०६:०९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij