२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विद्युतीय सवारीसाधनहरु नेपालमै उत्पादन गर्न निजी क्षेत्रसँग अनुरोध गरेका छन् । काठमाडौंमा जारी नाडा अटोशोका अवसरमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र नाडाले आयोजना गरेको ‘ड्राइभिङ द फ्युचर : इभी एडप्सन इन नेपाल’ विषयक प्यानल डिस्कसन कार्यक्रममा बोल्दै सचिव राउतले यस्तो अनुरोध गरेका हुन् ।
पछिल्लो समय केही उद्योगीहरुले नेपालमै विद्युतीय सवारीसाधनहरु एसेम्बलिङ गर्न थालेको र कतिपय उद्योगीले विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग खोल्न अनुमति मागसमेत गरेको भन्दै यसले सबैलाई राम्रो गर्ने बताए । नेपालमै गाडी उत्पादन हुने हो भने रोजगारी सिर्जना हुने र अहिले देशले भोगिरहेको व्यापार घाटा पनि कम हुने सचिव राउतको भनाइ छ ।
‘अहिले हामीले १८ खर्बमाथिको आयात गर्दा ३ खर्ब हारहारीमात्रै निर्यात गरिरहेका छौं, व्यापारघाटा नै १५ खर्ब २७ अर्ब छ’ सचिव राउतले भने, ‘आयात हुने वस्तुको पहिलो नम्बरमा नै पेट्रोलियम पदार्थ र ३/४ नम्बरमै गाडी छ, नेपालमै इभी उत्पादन गर्न सके हामीले इन्धनको खपत कम गर्न सक्छौं र व्यापारघाटा कम हुन्छ ।’
नेपालमै उत्पादन गर्न सके व्यापारघाटा कम हुने, रोजगारीका अवसरहरु सिर्जना हुने र ठूलो मात्रामा बाहिरिरहेको विदेशी मुद्रा बाहिरिने क्रम पनि कम हुने उनको भनाइ छ । उनले इभीका विषयमा नयाँ कानून बन्ने चरणमा रहेको र नयाँ कानूनले अहिले देखिएका समस्याहरु पनि समाधान हुने बताए । अहिले विद्युतीय सवारी साधनका बिक्रेताहरुले दर्ता प्रक्रियादेखि सवारी परीक्षणसम्मको समस्या झेलिरहेका छन् । यी समस्याहरु समाधान गर्नका लागि प्रदेश र स्थानीय सरकार समेतलाई सहभागी गराएर पिपिपि मोडलमा लग्ने सरकारको तयारी रहेको सचिव राउतले बताए ।
पेट्रोलको मात्रै होइन, डिजलको पनि विकल्प चाहिन्छ: डा. थापा
काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक डा. विराजसिंह थापाले अब पेट्रोलको मात्रै होइन डिजलको पनि विकल्पबारे बहस हुनुपर्ने बताएका छन् । इतिहासमा इन्धन गाडी भन्दा पहिले नै इभी गाडी सडकमा गुडेको भए पनि इभी भन्दा इन्धन नै सहज भएकाले त्यो टिकाउ भएको उनको भनाइ छ । यद्यपि पछिल्लो समय इभीहरु एड्भान्स भएर आएकाले बजार लिइरहेको उनले बताए ।
तर अहिले निजी सवारी साधन र छोटो दुरीका सवारी साधनहरु इभी रहेको भन्दै आजको दिनमा पनि लामो र धेरै सामान बोक्ने गाडीहरु डिजल नै रहेको उनले बताए । अहिले साना र छोटो दूरीका थोरै भारवहन क्षमता भएका सवारी साधनमात्रै ब्याट्रीले चलिरहेका छन् । सयांै टन सामान बोक्ने ट्रक र लामो दूरीका ठूला बसहरु अहिले पनि निकै ठूलो संख्यामा कुदिरहेका छन् । ‘तपाई थानकोटको उकालोमा हेर्नुस् या साँगाको नाकामा हेर्नुस्, त्यहाँ ठूला क्षमता भएका डिजल गाडीहरु सयौंको संख्यामा देखिन्छ, अब तिनलाई ब्याट्रीले विस्थापन गर्न सक्दैन’ डा. थापाले भने, ‘अहिले भइरहेको त पेट्रोलको विकल्प हो, यस्ता डिजल गाडीका विकल्पहरुबारे पनि हामीले सोच्नुपर्छ ।’ उनले यसको विकल्पका रुपमा हाइड्रोजन हुनसक्ने आफूहरुको अध्ययनले देखाएको बताएका छन् ।
सरकारी अधिकारीहरु भन्छन्– हामी सहजीकरण गर्ने पक्षमै छौं
कार्यक्रममा भन्सार विभागका उपमहानिर्देशक अमृत लम्सालले विद्युतीय गाडी उपयोगका लागि सरकारले सहयोग नै गरेको बताए । उनले विभिन्न नीति नियमबाट सरकारले विद्युतीय गाडी प्रयोग बढाउन सहजता प्रदान गरिरहेको बताए ।
कार्यक्रममा यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले विद्युतीय सवारीसाधनको संख्या बढ्दै गएको र यसलाई व्यवस्थित गर्न अहिले कानूनको अभाव रहेको बताए । उनले यही भदौभित्रमा नयाँ कार्यविधि जारी हुनेसमेत बताए । ‘कार्यविधिको अन्तिम चरणमा छौं, केही स्टेकहोल्डरहरुको फरक मत छ’ उनले भने, ‘हामी सबै सरोकारवालाहरुको रायसमेत समेटेर कार्यविधि जारी गर्नेछौं ।’
इभीमा बैंकहरुले पनि राम्रै लगानी गरेका छन् : उपाध्यक्ष रेग्मी
नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विद्युतीय सवारी साधानहरुमा बैंकहरुले राम्रै लगानी गरेको बताए । उनले आगामी दिनमा पनि बैंकले इभीलाई प्राथमिकतामा नै राख्ने बताए । सन् २००० बाट निजी सवारीसाधनका रुपमा इभी आयात शुरु भएको तथ्यांक सुनाउँदै उनले अहिले भइरहेको प्रयोगको तथ्यांकले उत्साहित बनाउने बताए । वातावरणीय हिसाबले पनि इभी धेरै राम्रो भएकाले बैंकहरुले प्राथमिकताका साथ लगानी गरिरहेको उनको भनाइ छ । उपाध्यक्ष रेग्मीका अनुसार ग्लोबल आइएमईले इभीमा ऋण लगानी गर्न छुट्टै युनिट नै बनाएको छ, अन्य बैंकहरुले पनि बनाएका छन् ।
नीतिगत अस्पष्टताका कारण व्यवसायी मर्कामा
कार्यक्रममा नाडाका कार्यसमिति सदस्य एवं वातावरण समितिका सभापति कपिल शिवाकोटीले नीतिगत स्पष्टता नहँुदा व्यवसायीहरुले अहिले समस्या झेलिरहेको बताए । नाडाको इभी समितिका सदस्य समेत रहेका उनले दर्ता तथा परीक्षणमा समेत समस्या रहेको बताए । परीक्षण गर्ने उचित विधि नहुँदा आजको मितिमा पनि सेतो गुम्बाको उकालो चढाएर परीक्षण हुनु दुखद भएको उनले सुनाए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij