२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी २० सिरिज अन्तर्गत आफ्नो पाँचौ म्याचमा नेपालले मेलबर्न रिनेगेट्स एकेडेमीसमक्ष १४० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पहिलो इनिङमा ९ विकेट गुमाएर १३९ रन जोडेको हो ।
टीममा निकै फेरबदल गरिरहेको नेपालले आज नियमित कप्तान रोहितकुमार पौडेललाई बेन्चमा राखेको थियो । उपकप्तान दिपेन्द्रसिंह ऐरीले टिमको कप्तानी गरेका छन् । नेपाललाई आज मध्यक्रममा रोहितको अभाव खट्कियो ।
आसिफ शेखलाई बेन्चमा राखेको नेपालले कुशल भुर्तेलको जोडीका रूपमा भीम सार्कीलाई ओपनिङमा पठायो । तर, यो जोडी धेरै टिकेन । ६ बलमा १ रन बनाएर भुर्तेल आउट भए । तेस्रो नम्बरमा आए आरिफ शेख । भीम र आरिफबीच छोटो तर आक्रमक साझेदारी भयो । भीम १२ बलमा १७ रन बनाएर आउट भए भने आरिफ ७ बलमा १२ रन जोडेर फर्किए । ३२ रनमा तीन विकेट गुमाउँदै नेपाल दबाबमा पर्यो ।
त्यसपछि कुशल मल्ल र कप्तान ऐरीबीच ५० रनको उपयोगी साझेदारी भयो । २२ बलमा २९ रन जोडेर मल्ल आउट भए । उनले एक छक्का र एक चौका प्रहार गरेका थिए । त्यसपछि नेपालले लगातार विकेट गुमाइरह्यो । गुल्शन झा २ र सोमपाल कामी ० रनमा आउट भए । कप्तान ऐरी पनि २८ बलमा २७ रन जोडेर पेभिलियन फर्किए ।
१०० रनमा सात विकेट गुमाएको स्थितिबाट नेपाललाई लोकेश बलमे अलिकति उकासे । आठौं नम्बरमा ब्याटिङ गर्न आएका उनले १६ बलमा २४ रन प्रहार गरे । १९ औं ओभरको अन्तिम तीन बलमा उनले लगातार दुई छक्का र चौका प्रहार गरेका थिए । रुपेश सिंहले २१ बलमा १६ रन जोडे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij