२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिँदै छन् । आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाबाट विश्वासको मत लिनेगरी प्रदेशसभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयसमक्ष जानकारी गराएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ ।
यसैबीच सत्तारुढ कांग्रेस र एमालेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन् । कांग्रेस संसदीय दलका सदस्यसचिव मीनकृष्ण महर्जन र एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले सूचना जारी गरी प्रदेशसभाको आजको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन्।
बागमती प्रदेशसभाको बैठक आजदेखि प्रदेशसभा सचिवालयको नयाँ भवनमा सञ्चालन हुने भएको छ । भवनको सम्पूर्ण काम सम्पन्न भई हस्तान्तरण भइसकेकाले आजबाट नयाँ भवनमा प्रदेशसभाको बैठक सञ्चालन गर्ने तयारी भएको प्रदेशसभा सचिवालयका सचिव पौडेलले जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij