२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को अन्त्यसम्ममा मुलुकको सार्वजनिक ऋण २९ खर्ब ४२ अर्ब पुग्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असार मसान्तसम्ममा कुल सार्वजनिक ऋणमा आन्तरिक ऋण र वैदेशिक ऋणको हिस्सा क्रमशः ४६.८५ प्रतिशत र ५३.१५ प्रतिशत पुग्ने भएको छ ।
आन्तरिक ऋणको उपकरणमध्ये ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र र आइ।एम।एफ बण्डको मौज्दात कुल ऋणको हिस्सा क्रमशः १२.२ प्रतिशत, ३३.९८ प्रतिशत, ०.४९ प्रतिशत, ०.०४ प्रतिशत र ०.१३ प्रतिशत रहने अनुमान गरिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ऋणको अनुपात भने चालु आर्थिक वर्ष २०८२\८३ को अन्त्यसम्ममा ४३.०८ प्रतिशत हाराहारीमा रहने अनुमान छ । २०८२\८३ को प्रारम्भमा कुल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋण र वैदेशिक ऋण क्रमशः २०.७५ प्रतिशत र २२.६३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको अन्त्यमा जीडीपीमा आन्तरिक ऋणको अनुपात २०.१८ प्रतिशत र वाह्य ऋणको अनुपात २२.९० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
सरकारले घाटा बजेट प्रस्तुत गर्न सक्ने कानुनी व्यवस्थाअनुसार न्यून वित्त पूर्ति गर्न सार्वजनिक ऋण परिचालन गर्ने सीमा कानुनमा नै तोकिएको भए पनि पछिल्लो समय जथाभाबी सनकका भरमा ऋण लिँदा मुलुकमा सार्वजनिक ऋण बढ्दै गएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij