२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूले धारणा राख्न सुरु भएको छ ।
बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषय र राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेपछि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विधान संशोधन र सांगठानिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोल्न समय दिइएको थियो ।
‘विधान संशोधनमाथि गण्डकीका सदस्यहरूबाट बहस सुरु भएको छ, अहिले पनि गण्डकीका नेताहरूले धारणा राख्ने क्रम सुरु भएको छ’, एक केन्द्रीय सदस्यले भने,‘राजीव पहारी, पदम गिरी, रविन्द्र अधिकारी, सूर्य पाठक, इन्द्रलाल सापकोटा, रामचन्द्र बस्नेत, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देललगायतले धारणा राखिसकेका छन् ।’
धारणा राख्ने क्रममा केदार सिग्देल पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउन नहुने धारणा राखेका छन् । ‘अहिले विद्या भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलेको छ, सम्मानित पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु ठिक र राम्रो होइन’, सिग्देलले बैठकमा भनेका छन् ।
केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले भने विद्या भण्डारी सक्रिय राजनीतिमा आउन चाहे उनलाई स्थान दिए पार्टी थप मजबुत हुनसक्ने धारणा राखेको एक केन्द्रीय सदस्यले बताएका छन् ।
बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले विद्या भण्डारीको प्रवक्ता बन्न जरुरी रहेको भन्दै पार्टी हित विपरीत बोल्नेलाई अनुशासन कारबाही गर्ने चेतावनी दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij