Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

असारको १६ दिनमा ९६ अर्ब सरकारी खर्च, ४० अर्ब आम्दानी

असारको १६ दिनमा ९६ अर्ब सरकारी खर्च, ४० अर्ब आम्दानी


  • 1.7K
    Shares

    असारको १६ दिनमा ९६ अर्ब सरकारी खर्च, ४० अर्ब आम्दानी

    काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको असार महिनामा १६ दिनमा कुल ९६ अर्ब ८६ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले चालु, पुँजीगत तथा वित्तीय व्यवस्था समेतमा गरी सो बराबरको खर्च गरेको हो ।

    यसमध्ये चालु खर्चतर्फ यो अवधिमा ५८ अर्ब ९९ करोड ६० लाख रुपैयाँ, पुँजीगततर्फ १६ अर्ब ५३ करोड ६० लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ २१ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ । 

    योसँगै चालु आर्थिक वर्षको यो अवधिसम्म १३ खर्ब ७९ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको छ । यसमध्ये चालुतर्फ ९ खर्ब १० अर्ब ५७ करोड, पुँजीगततर्फ १ खर्ब ५९ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ९ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । 

    चालु आर्थिक वर्षका लागि सरकारले बजेटमा १८ खर्ब ६० अर्ब ३० करोड खर्च गर्ने लक्ष्य लिएको थियो । योमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ खर्चको लक्ष्य थियो । 

    गत जेठ १५ गते अर्थ मन्त्रालयले उक्त बजेट खर्चको संशोधित अनुमान गरेको थियो । यसमध्ये चालुतर्फ १० खर्ब ९ अर्ब ४८ करोड, पुँजीगततर्फ २ खर्ब ९३ अर्ब ८६ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ५८ अर्ब ४६ करोड रुपैयाँ बराबरको खर्च गर्ने लक्ष्य छ ।

    ४० अर्ब आम्दानी

    यो अवधिमा सरकारले कुल ४० अर्ब ३३ करोड ९९ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । कर राजश्व, गैरकर राजस्व, अनुदान र अन्य आम्दानी समेत गरी यस अवधिमा सो बराबरको आम्दानी प्राप्त भएको हो । 

    यो रकममध्ये कर राजस्वतर्फ ३४ अर्ब ९३ करोड २८ लाख, गैरकर राजस्वतर्फ २ अर्ब ५५ करोड ७३ लाख तथा अनुदानतर्फ २ अर्ब ७३ करोड ९७ लाख तथा अन्य आम्दानीतर्फ ११ करोड १ लाख रुपैयाँ आम्दानी रहेको छ । 

    सरकारले यो आर्थिक वर्षमा कुल १४ खर्ब १९ अर्ब ३० करोडको राजस्व तथा ५२ अर्ब ३२ करोड २० लाख रुपैयाँ बराबरको अनुदानको लक्ष्य थियो । 

    गत बजेट वक्तव्यमा १२ खर्ब ६७ अर्ब ३९ करोड र अनुदान ३४ अर्ब ८९ करोड आउने संशोधित अनुमान गरिएको छ ।

     

    प्रकाशित मिति :आषाढ १७ २०८२ मंगलवार - १५:४८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij