२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका तत्कालीन महासचिव, जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदनकुमार भण्डारी जन्मजयन्तीको पूर्वसन्ध्यामा हरेक वर्ष जनसंगठनका नेता र पार्टीका नेताहरूसँग संवाद गर्ने गरेकी छन् ।
राष्ट्रपति भएको बेला पनि मदन जयन्तीको सन्दर्भमा छलफल र संवाद गरेकी थिइन् । सधैँजस्तै यो वर्ष पनि ६ असारमा जनसंगठनका नेताहरूसँग छलफल कार्यक्रम आयोजना गरेकी थिइन् । यस वर्ष विशेष छ । किनभने मदनको हीरक जयन्ती–२०८३ मनाउने तयारी थालिएको छ ।
तर, ५ असारमा यस्तो छलफल कार्यक्रम राखिएको जानकारी पाउनासाथ ३ गते नै एमाले जनसंगठन संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य भानुभक्त ढकालले बैठक बोलाए । मुख्य उद्देश्य रहेछ, ६ गतेको छलफलमा जान रोक्ने र १४ असारको कार्यक्रमलाई प्रभावित गर्ने । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संबोधन गर्ने भनिए पनि उनी आएनन् । उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले संबोधन गरे ।
बैठकमा उपाध्यक्ष पौडेलले पार्टी र जनसंगठनमा शिथिलता देखिएको बताएका थिए । ‘एमालेमा कुनै बेला सिठी फुकेको भरमा हजारौँ मानिस सडकमा आउँथे । अहिले किन शिथिल भए ?’ पौडेलको यो टिप्पणीलाई अनेरास्ववियुको अध्यक्षमा पराजित प्रकाश पौडेल र युवा संघमा पराजित सुमन पुरीले सार्वजनिक रूपमै उत्तर फर्काए । पौडेलले आफ्नै कार्यकर्तालाई आधिकारिक र अनाधिकारिक भन्दै विभाजन गर्ने र स्वच्छ प्रतिस्पर्धाबाट वञ्चित गर्ने हो भने थप कमजोर बन्ने बताएका थिए।
यस्तै रवैया देखाइरहने हो भने भोलि ‘मरेँ मरेँ’ भनेर गुहार माग्दा पनि कार्यकर्ताले आउन रुचि राख्ने छैनन् । तपाईंहरू त नबदलिनुहोला तर समय र कार्यकर्ता भने फराकिलो सोच राख्दै, जनताको बहुदलीय जनवाद मान्दै आफैँ सोच्ने र निर्णय गर्ने अवस्थामा पुगिसकेका छन् ।’
मदन भण्डारी फाउण्डेशनले भण्डारीको हीरक जयन्ती–२०८३ मनाउन एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा २ सय सदस्यीय मूल समिति गठनको तयारी गरेको छ । २०१० साल असार १४ गते जन्मिएका भण्डारीको ७४ पुगेर ७५ वर्ष लाग्ने दिन पारेर मदन जयन्तीकै दिन सो समिति घोषणाको तयारी गरिएको छ ।
१४ असारको कार्यक्रमको निम्तो कार्ड बनाएर भण्डारी निकटहरूले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । केही जनसंगठनका अध्यक्ष र महासचिवले पनि यो पोष्टर सेयर गरेका थिए । स्रोतका अनुसार संयोजक ढकालले उनीहरूलाई सन्देश नै पठाएर पोष्टर सेयर नगर्न भनेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij