२०८२ मंसिर १२ गते शुक्रवार
गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ६१ करोड ३२ लाख ७८ हजाि १ सय ४ रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जाराको अध्यक्षतामा सम्पन्न अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ६१ करोड ३२ लाख ७८ हजार १०४ बराबरको बजेट सर्वसम्मत पारित गरिएको छ।
अधिवेशनमा अध्यक्ष बन्जाराले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। सो कार्यक्रम गाउँसभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। साथै, गाउँपालिकाका उपाध्यक्ष अमृता देवी भट्टले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०८२ र आर्थिक विधेयक २०८२ पनि सदस्य गोपाल विकको समर्थनमा पारित गरिएको छ।
गाउँसभामा उपाध्यक्ष भट्टले स्थानीय राजस्व परामर्श समिति र न्यायिक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी सुशासन समिति, विधायन समिति र लेखा समितिका संयोजकहरूले आ–आफ्ना प्रतिवेदन सभामा प्रस्तुत गरे।
गाउँ कार्यपालिकाका विभिन्न विषयगत समितिहरू — सामाजिक विकास (नारायण श्रेष्ठ), आर्थिक विकास (होम बहादुर बरामु), वन, वातावरण तथा विपद् व्यवस्थापन (नारायण प्रसाद भट्टराई), पूर्वाधार विकास (विकास श्रेष्ठ) र संस्थागत विकास तथा सुशासन (गोपाल विक) — का संयोजकहरूले विगत आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
सभाले भिमसेनथापा गाउँपालिकालाई ‘पूर्ण खोप घोषणा’ गर्नेसम्बन्धी गाउँ कार्यपालिकाको निर्णय अनुमोदन गरेको छ। साथै, दिगोपनाको सुनिश्चिततासहित अन्य महत्वपूर्ण निर्णयहरू पनि पारित गरिएको जनाइएको छ।
कार्यक्रमको समापनमा सभाध्यक्ष लोक प्रसाद बन्जाराले धन्यवाद ज्ञापन गर्दै गाउँसभाको १६ औं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभयो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij