२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सामाजिक सञ्जाल टिकटक मार्फत जातीय, साम्प्रदायिक भावना भड्काउने र प्रतिष्ठित व्यक्ति तथा संस्थाहरूमाथि तथ्यहीन आरोप लगाउँदै भ्रामक सामग्रीहरू प्रसारण गर्ने एक युवती पक्राउ परेकी छन्।
साइबर ब्युरो, काठमाडौंका अनुसार पक्राउ परेकी युवती खोटाङ जिल्ला हलेसीतुवाचुङ नगरपालिका–६ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेत हुन्।
ब्युरोका अनुसार उनले नियोजित रूपमा सामाजिक सञ्जालमा संवेदनशील विषयवस्तुहरू राखेर जातीय द्वन्द्व निम्त्याउने, चरित्र हत्या हुने खालका सामग्री पोस्ट गर्ने र संस्थागत छविमा आँच पुर्याउने काम गरिरहेकी थिइन्।
प्रविधिक विश्लेषण र अनुसन्धानबाट संलग्नता पुष्टि भएपछि उनलाई आइतबार भक्तपुरबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ। अदालतको आदेशअनुसार उनलाई तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij