२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो ।
बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ । साथै गृहमन्त्री रमेश लेखकबारे पनि छलफल केन्द्रित हुने बताइएको छ । बैठकमा गृहमन्त्री लेखकसँगै प्रमुख सचेतक श्याम घिमिरे पनि उपस्थित छन् ।
आजको बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ । उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको छ ।
कांग्रेसका केही नेताहरूले पनि लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । यता गृहमन्त्री लेखकले भने आफूले कहिल्यै आर्थिक अनियमितता गरेको प्रमाणित गर्न सके राजनीतिबाटै राजीनामा दिने बताउँदै आएका छन् ।
साथै जेठ १३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा आफूले उक्त घटनाक्रमबारे जानकारी गराउनका लागि समय लिइसकेको बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij