२०८२ भाद्र २० गते शुक्रवार
काठमाडौं । भारतले अमेरिकी वस्तु भन्सार शुल्क पूरै हटाउने प्रस्ताव गरेको भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्।
मध्यपूर्वको भ्रमणको क्रममा कतारमा रहेका ट्रम्पले प्रमुख व्यापारीहरूसँगको एक कार्यक्रममा बोल्दै भारत सरकारले कुनै पनि वस्तुमा भन्सार शुल्क नलगाउने सम्झौता प्रस्ताव गरेको भनेर ब्लुमबर्गले भनेको छ।
ट्रम्पले अप्रिल २ मा सारा संसारसँग भन्सार युद्ध छेडेपछि भारत लगायत धेरै देशले अहिले अमेरिकासँग व्यापार वार्ता गरिरहेका छन्। भारतले अमेरिकी वस्तुमा उच्च भन्सार लगाउने गरेकाले ट्रम्पले भारतलाई भन्सार ‘किङ’ भन्दै आएका छन्।
ट्रम्पले सो प्रस्तावबारे विस्तृत रूपमा भने खुलाएनन्। भारत सरकारले पनि त्यसबारे टिप्पणी गरेको छैन।
ट्रम्पले एप्पल कम्पनीलाई भारतमा उत्पादन विस्तार गर्नबाट निरूत्साहित गरेको पनि कतारमा खुलासा गरेका छन्। एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकलाई भारतमा निर्माण विस्तार नगर्नु भनेको भन्दै एप्पलले अमेरिकामै उत्पादन बढाउने दाबी पनि ट्रम्पले गरेका छन्।
ट्रम्पका सामु नझुकेपछि चीनलाई लगाएको उच्च भन्सार दर घटाएको देखेर भारतले पनि उनको प्रतिकार गर्ने नीति अंगालेपछि उनको यस्तो टिप्पणी आएको हो।
ट्रम्पले 'स्वतन्त्रता दिवस' भन्दै अप्रिल २ मा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च 'रेसिप्रोकल' (पारस्परिक) भन्सार लगाउने घोषणा गरेका थिए। सो घोषणापछि सबै देशलाई उनले जबाफी कदम चाले अझ उच्च भन्सार लगाउने र नचाले पुरस्कृत गर्ने बताएका थिए। उनको डरले चीन बाहेक कसैले पनि जबाफी कदम चालेनन्।
उनको प्रतिकार नगर्ने ७० वटाभन्दा बढी देशलाई एक सातामै उनले लगाएको उच्च पारस्परिक दर फिर्ता लिए र सबैलाई १० प्रतिशत लगाए।
चीनले भने उनको धम्की बेवास्ता गर्दै जबाफी भन्सार दर लगायो। ट्रम्पले रिसाएर दर अझ बढाउने र चीनले फेरि जबाफ दिने क्रम चल्दै जाँदा ट्रम्पले दोस्रो कार्यकाल सुरू भएपछि चीनलाई लगाएको भन्सार दर आकासिएर १४५ प्रतिशत पुग्यो। चीनले अमेरिकी वस्तुमा लगाएको भन्सार दर पनि १२५ प्रतिशत पुग्यो।
यसरी चीनले जबाफी कदम चाले पनि ६ साता नपुग्दै ट्रम्प झुके।
स्विट्जरल्यान्डको जेनेभामा शनिबार र आइतबार चलेको अमेरिका–चीन व्यापार वार्तापछि सोमबार दुवै देशले एकअर्कालाई लगाएको भन्सार दर ९० दिनका लागि ११५ प्रतिशत विन्दुले घटाउने घोषणा गरे।
चीनले अडिग रहेर ट्रम्पलाई झुकाएको देखेपछि चीनलाई आफ्नो मुख्य प्रतिस्पर्धी ठान्ने भारतले पनि उनको प्रतिकार गर्ने नीति अँगालेको छ।
भारत अमेरिका विरूद्ध विश्व व्यापार संगठन (डब्लूटिओ) गएको छ। अमेरिकाले भारतको स्टिल र आलमिनियममा लगाएको २५ प्रतिशतको भन्सारको बदलामा भारतले अमेरिकी वस्तुमा भन्सार लगाउने भनेर डब्लुटिओलाई जानकारी गराएको छ।
अमेरिकाले लगाएको भन्सारले भारतको सात अर्ब ६० करोड डलरको स्टिल र आलमिनियम निर्यातमा प्रभाव पारेको भन्दै त्यति नै मूल्यको अमेरिकी उत्पादनमा भन्सार लगाउने भनेर भारतले डब्लुटिओमा विवाद समाधान प्रक्रिया सुरू गरेको छ। ट्रम्पको पछिल्लो टिप्पणी यसै सन्दर्भमा आएको मानिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij