२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । वाणिज्य बैंकहरुको सेयर धितो कर्जामा उल्लेख्यनीय वृद्धि भएको छ । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ खर्ब रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० मध्ये १९ वाणिज्य बैंकबाट उक्त अवधिसम्म कुल १ खर्ब १ अर्ब ६० करोड ७० लाख रुपैयाँ बराबरको सेयर लोन प्रवाह भएको छ। गत वर्षको तुलनामा ५०.४७ प्रतिशतले वृद्धि भएको छ।
सेयर बजारमा लगानीकर्ताको चासो बढेसँगै सेयर धितो कर्जाको माग पनि उल्लेख्यनीय रूपमा वृद्धि भएको छ। १७ वाणिज्य बैंकहरूले गत वर्षको तुलनामा यो वर्ष सेयर लोन बढाएका छन् भने २ बैंकहरूले प्रवाह घटाएका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितो कर्जा प्रवाह गरेको छैन।
सबैभन्दा धेरै सेयर लोन प्रवाह गर्ने पहिलो वाणिज्य बैंकमा नबिल बैंक रहेको छ भने उक्त बैंकले यो अवधिसम्म १४ अर्ब ५० करोड ७१ लाख रुपैयाँ सेयर लोन प्रवाह गरेको छ ।
ग्लोबल आइएमई बैंकले ११ अर्ब ६५ करोड ५७ लाख, कुमारी बैंकले ९ अर्ब १३ करोड ९४ लाख, सिटिजन्स बैंकबाट ६ अर्ब ८५ करोड १ लाख, नेपाल बैंकबाट ७ अर्ब ८२ करोड ६४ लाख, सिद्धार्थ बैंकबाट ८ अर्ब ५२ करोड ३७ लाख, लक्ष्मी सनराइज बैंकबाट ५ अर्ब २१ करोड ३८ लाख, प्राइम कमर्सिल बैंकबाट ७ अर्ब ७८ करोड ७१ लाख र राष्ट्रिय वाणिज्य बैंकबाट ४ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ सेयर लोन गएको छ।
सिद्धार्थको सेयर लोन प्रवाह ५४.९९ प्रतिशत, नेपाल बैंकको ४३.६८ प्रतिशत, प्राइमको ८७.८८ प्रतिशत, सिटिजन्सको ५४.५१ प्रतिशत, लक्ष्मी सनराइजको ६०.७४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १७.२७ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको चैतसम्म प्रभु बैंकबाट ४ अर्ब ६५ करोड २१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ३ अर्ब २२ करोड ८९ लाख रुपैयाँ, कृषि विकास बैंकबाट ३ अर्ब ३ करोड ७४ लाख रुपैयाँ, एभरेस्ट बैंकबाट २ अर्ब ७७ करोड ५३ लाख रुपैयाँ र सानिमा बैंकबाट २ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ सेयर लोन गएको छ। अघिल्लो वर्षको सेयर लोन प्रवाह प्रभु बैंकको ४४.६९ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५८.८१ प्रतिशत, कृषि विकास बैंकको १३६.५७ प्रतिशत, एभरेस्ट बैंकको ३५.४४ प्रतिशत र सानिमा बैंकको ५१.१२ प्रतिशतले बढेको छ।
चैत मसान्तसम्म केही बैंकहरूको सेयर लोन प्रवाहमा गिरावट आएको छ। एनआईसी एसिया बैंक र हिमालयन बैंकको सेयर लोन अघिल्लो वर्षको तुलनामा क्रमशः ४१.७२ प्रतिशत र ०.७४ प्रतिशतले घटेको छ भने एनएमबि बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले भने सेयर लोन उल्लेख्य दरले वृद्धि गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij