२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । आफू कार्यरत कम्पनी बन्द हुँदा साउदीमा साढे ४ सय जना भन्दा बढि नेपाली श्रमिकहरू अलपत्र परेका छन् ।
साउदी अरबको जुबेल शहरमा रहेको सेन्डन इन्टरनेशनल कम्पनी बन्द हुँदा रोजगारीका लागि साउदी अरबिया पुगेका ४६९ जना नेपाली श्रमिक अलपत्र परेका हुन्।
४६९ जना पीडित श्रमिकहरूले कम्पनी बन्द भएको कारण अलपत्र परेको र आफूहरूलाई उद्धार गरिदिन दूतावासलाई २० दिन अगाडि निवेदन दिएको नेपाली दूतावास रियादले जनाएको छ ।
पीडितहरूको लिखित निवेदनपश्चात् दुतावासले सम्बन्धित कम्पनीमा सम्पर्क गरी अलपत्र परेका नेपाली श्रमिकहरूलाई तत्काल उद्धार गर्न निर्देशन दिएको दूतावासका श्रम काउन्सेलर कविराज उप्रेती बताए । उप्रेतीका अनुसार पीडितमध्ये २२६ जनाले स्वदेश फिर्ताको लागि लिखित रूपमा निवेदन दिएका र २४३ जनाले आफूहरू काम पाएमा सम्बन्धित कम्पनीमा लोकल ट्रान्सफरको लागि आह्वान गरेको जानकारी दिए ।
अलपत्र परेका नेपाली श्रमिकहरूले पाउनुपर्ने सेवा सुविधा कम्पनीबाट दिलाउने र पीडितलाई जति सक्दो स्वदेश फिर्ता गराउने काममा दूतावास लागेको श्रम काउन्सेलर उप्रेतीको भनाइ छ । पीडितहरूलाई दूतावास रियादले नै खान बस्नको व्यवस्था गर्दै आइरहेको उप्रेतीले बताए ।
साउदीका लागि नेपाली राजदूत डा. नरेशप्रसाद ढकालले श्रम गरी परिवारलाई सुख दिन रोजगारीका साउदी आएका नेपाली कार्यरत कम्पनी बन्द भएर अलपत्र पर्नु दुखद भएको बताए। ढकालले अलपत्र परेका नेपालीको उद्धारको लागि आफू लगायत नेपाली दूतावास टिम नै सम्बन्धित कम्पनी र साउदी सरकारसँग समन्वय गरिरहेको पनि जानकारी दिए।
उनीहरूले दुईदेखि नौ महिनासम्मको तलब पाएका छैनन्। अलपत्र ४६९ नेपालीमध्ये कतिपय बिरामी अवस्थामा रहेको पीडितहरूले गुनासो गरेका छन् । उनीहरु साउदी अरबको विभिन्न सहरमा छरिएर बसेका छन्।
अलपत्र नेपालीहरु नेपालमा रहेको फेलिसिटी इन्टरनेशनल इम्प्लोयमेन्ट एजेन्सी प्रा.लि.मार्फत साउदी आएको बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij