
२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको गठबन्धनको सरकार धरमाउन थालेको छ । सत्ता गठबन्धन भित्रको विवाद पछिल्लो समय छताछुल्ल भएको छ । सरकारको काम कारबाहीलाई लिएर कांग्रेस महामन्त्री गगन थापाले आगो ओकल्न थालेका छन् ।
गठबन्धनमा गडबडी भएको सुइँको पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राती वालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाकेका थिए । तर सो बैठकमा उच्च स्तरीय राजनीतिक संयन्त्रका सदस्य समेत रहेका कांग्रेस महामन्त्री गगन थापा उपस्थित भएनन् । थापाले बैठक बहिस्कार गरेपछि गठबन्धन भित्र हलचल मच्चिनुका साथै काग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओली झस्किएका छन् ।
सरकार निर्माण भएदेखि नै थापाले जनअपेक्षा अनुसार काम नभएको गुनासो गर्दै आएका थिए । केही दिन अघि थापाले बिचौलियाहरु प्रधानमन्त्रीको बेडरुम सम्मै पुगेको अभिव्यक्ति दिएका थिए । यसबाट पनि के प्रष्ट हुन्छ भने महामन्त्री थापा सरकारको काम कारबाही प्रति सन्तुष्ट थिएनन् र छैनन्। हुन त २०८१ असार १७ मा कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति गर्दा महामन्त्री थापालाई जानकारी नदिएरै देउवाले ओलीसँग सत्ता गठबन्धन गर्ने सहमति गरेका थिए ।
थापा सरकारप्रति रिसाएपछि उनले एकातिर जनताको साहानुभूति पाएका छन् भने अर्को तिर गठबन्धनको सरकार धरापमा पर्ने संकेत मिलेको छ ।
उसो त गठबन्धनको सरकार निर्माण भएदेखि नै कांग्रेसभित्र एक तप्काले विरोध गर्दै आएको थियो । पछिल्लो समय विभिन्न पेशाकर्मीका सामान्य पनि माग सरकारले पुरा गर्न नसक्दा त्यसको असन्तुष्टि सडकमा पोखिएको छ । यही अवस्था ओली नेतृत्वको सरकारलाई साथ दिएमा कांग्रेसको छवि झन धमिलो हुने र यसको असर २०८४ निर्वाचनमा पनि पर्ने बुझाइ थापा पक्षको छ । कांग्रेस भित्र शेखर कोइरला पनि सरकारको विरोध गर्दै आएका छन् । गगन र शेखरबीच मनमुटाव भएपनि सरकार बारे भने दुबैको मत एउटै छ ।
यस्तो अवस्था कांग्रेस भित्र गगन–शेखर समूह मिलेर संस्थापनमाथि हाबी हुने सम्भावना पनि छ । यति मात्रै नभएर शेखर गगन लगायतको समूहले पार्टीभित्र विद्रोह गरेर नयाँ सत्ता समिकरण निर्माण गर्ने सम्भावना पनि उत्तिकै छ । अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सरकार ढाल्ने कसरतमा रहेका कारण माओवादी, रास्वपा र गगन–शेखर समूह मिलेर नयाँ सरकार निर्माण हुने अवस्था पनि बन्दै गरेको पछिल्ला राजनीतिक घटनाहरुले छनक दिएको छ ।
यदि नयाँ गठबन्धन निर्माण हुने अवस्था आएमा प्रचण्ड र गगन मध्ये एक प्रधानमन्त्री बन्ने सम्भावना छ । १५ औ महाधिवेशनमा शेखरलाई सभापति बनाउन गगन समहत भएमा शेखरले उनलाई प्रधानमन्त्रीका लागि अघि सार्न सक्छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij