२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी भित्र र बाहिर दुबै त्रास एकै पटक आइलागेको छ । मंगलबार सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक घण्टा लामो भेटवार्ता भएको छ ।
बिहान ११ बजेदेखि भएको एक घण्टा लामो भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले कांग्रेस नेताहरूले सरकारबारे सार्वजनिक रूपमा दिएका अभिव्यक्तिबारे सोधीखोजी गरेका थिए । कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू शेखर कोइराला र एनपी साउद लगायतले सरकारले कामको गति बढाउन नसकेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठाइरहेका बेला दुई नेता वार्तामा बसेका हुन् ।
मंगलबार मात्रै महामन्त्री थापाले सकरारको गतिलाई कछुवाको भन्दा सुस्त भनिदिए । उनले त्यति मात्रै नभएर प्रधानमन्त्रीको बेडसम्मै बिचौलियाको पहुँच रहेको तिखो टिप्पणी पनि गरिदिए । उता अर्का नेता कोइराला पनि यो सरकारलाई लिएर आक्रमक भइरहेका छन्।
एकपछि अर्का कांग्रेस नेताहरूले सरकार र त्यसको नेतृत्वकर्ता प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर घेर्न थालेपछि ओलीले सभापति देउवालाई नेताहरूको धारणा बुझेर आफूलाई खबर गर्न भनेका छन् ।
बालुवाटार स्रोतका अनुसार ओलीले देउवालाई नेताहरूको असन्तुष्टि चौतर्फी छरिँदा कांग्रेस-एमाले सरकारमाथि प्रश्न उठेको बताएका थिए । त्यहीकारण विपक्षीले खेल्ने ठाउँ पाएको पनि उनको तर्क थियो । ओलीले भने जस्तै कांग्रेस नेताहरूको असन्तुष्टिको स्वर बाक्लिँदै गर्दा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार चाँडै ढल्ने बताइरहेका छन् ।
ओलीले गएको चैत २९ गते ‘एमालेलाई सिध्याउँछु, केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्’ भन्दै सार्वजनिक चेतावनी दिएका थिए।
रुपन्देहीमा भएको जागरणसभामा उनले ओलीबिनाको एमाले बनाउन चाहेको भए १५/२० वर्ष कुर्न पनि आग्रह गरेका थिए। ‘केपी ओलीबिनाको अभियान चलाउनेले १५/२० वर्ष पर्खिनुस्, अनि भेटिन्छ केपी ओलीबिनाको एमाले’, उनको भनाइ थियो।
२३ चैतमा मात्रै उनले कास्कीको पोखरामा अहिले आफ्नो कपाल पलाउन थालेको भन्दै ओलीबिनाको एमाले भन्नेप्रति दया लागेर आउने बताएका थिए।
कास्की जिल्ला कमिटीमा निर्वाचितहरुको सपथ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘पोहोर परार मेरो सबै कपाल झरेको थियो। अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफैं पलाउन थालेको छ। २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ।’
उनकै अभिव्यक्तिबाट प्रष्ट हुने विषय हो कि एमालेको २०८३ मंसिरमा हुने ११औँ महाधिवेशनबाट ओली तेस्रो पटक पार्टी अध्यक्ष बन्ने उत्कट चाहनामा छन्। ७४ वर्षीय उनी अब एक पटका लागि मात्र होइन, पटक-पटक पार्टी अध्यक्ष बन्न चाहन्छन्। त्यसैले उनी भनिरहेका छन्, पार्टी नेतृत्वका लागि कसैले आश नगर्दा हुन्छ।
पार्टीको विधानअनुसार पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने हुन्छ। ओलीले भनेकैअनुसार २० वर्ष पर्खिनुपर्ने हो भने अझै ओली धेरै पटक बढी पार्टी अध्यक्ष बन्न चाहिरहेका छन्।
माधवदेखि भीम रावल पार्टीमा नहुँदा पनि ओली भने सशंकित छन्। ओली आफ्नो विरुद्धमा बोल्नेलाई रुचाउने नेता होइनन्। व्यापारी मीनबहादुर गुरुङबाट जग्गा दान लिने निर्णयविरुद्ध बोलेको भन्दै भीम रावलसँगै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ओलीले निष्कासन गरेका थिए।
केन्द्रमा मात्र होइन, ओलीविरुद्ध गतिविधि गर्ने जिल्ला तहका नेताहरू पनि कारबाहीमा पर्दै आइरहेका छन्। केन्द्रदेखि जिल्लासम्मका नेताहरूलाई तह लगाउँदै आएका ओलीलाई अब विद्यादेवी भण्डारीको डर थपिएको छ।
भण्डारी पूर्व राष्ट्रपति हुन्। उनले दोस्रो राष्ट्रपति कार्यकाल सकिनासाथ एमाले पार्टी सदस्यता पुन: लिएकी थिइन्। त्यसपछि भण्डारी देश दौडाहामा रहेकी छन् जसले गर्दा ओलीलाई सशंकित बनाएको छ।
आवश्यक परे पार्टी नेतृत्व लिन पनि तयार रहेको भण्डारीले पटक-पटक भन्दै आइरहेकी छिन्। ओलीभन्दा १० वर्ष कम ६४ वर्षीया उनले केही दिनअघि एक अन्तर्वार्तामा ओलीलाई चेतावनी शैलीमा आफू अध्यक्ष बन्न तयार रहेको बताएकी छिन्।
नेपाल खबरमा प्रकाशित अन्तर्वार्तामा पार्टी नेतृत्वमा आउने विषय र तपाईंलाई फर्काउने विषयले एमाले ध्रुवीकरण हुने र फेरि ओलीबाट कार्यक्रताले कारबाही त भोग्नुपर्ने होइन भन्ने आशयको प्रश्नमा भण्डारीले प्रतिप्रश्न गर्दै भनेकी छिन्- ‘पार्टीको भावी नेतृत्वको बारेमा छलफल गर्दा कसरी कोबाट खतरा हुन्छ र?’
उनले आफूलाई जिम्मेवारीमा फर्काउने इच्छा व्यक्त गर्नेहरूलाई अझ बढी कामको जिम्मेवारी दिनुपर्ने बताएका छिन्। ‘मलाई सम्मान गर्ने, मसँग सम्पर्क गर्ने, मलाई नेतृत्वमा आउनुपर्छ भनेर इच्छा व्यक्त गर्नेहरूलाई त उहाँहरूले अझ बढी कामको जिम्मेवारी दिनुपर्छ नि त!’ उनले भनेकी छिन्।
विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई मोरङबाट प्रष्टरुपमा चुनौती दिइसकेकी छिन्। फागुनमा भएको १०औँ अधिवेशनमा ओलीपक्षका उम्मेदवारलाई हराउँदै भण्डारी पक्षका उम्मेदवारले अधिवेशन जितेका थिए। यहाँ ओली निर्वाचन नगराउने पक्षमा देखिएका थिए।
चैत्र ११ गते सम्मपन्न एमाले निकट प्रेस चौतारीको १०औँ महाधिवेशनमा निर्वाचन हुन नदिएपछि इच्छुक उमेदवारहरू रुँदै बाहिरएको दृष्यहरूसमेत सार्वजनिक भएको थियो।
कर्मचारीलगायत अन्य भातृ संगठनमा पनि ओलीले निर्वाचन हुन नदिइरहेको समयमा मोरङमा भने भण्डारीको प्यानलनै विजयी भयो। अध्यक्षमा अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष वान्तवा राई भण्डारीका पक्षका निर्वाचित भएका थिए। मोरङ भण्डारीको गृहजिल्ला पनि हो।
ओलीविरुद्ध बोल्न डराउने नेताहरू पनि अब भने बोल्न थालेका छन्। भित्रभित्र भए पनि ओलीविरुद्ध अभियान थालेका छन्। स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले ओलीले केन्द्रीय सदस्य बनाएका दुर्गा प्रसाईंकाबारेमा नेतृत्वको आलोचना नै गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij