Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

ट्रम्पले क्यानडा र मेक्सिकोको उत्पादनमा आजदेखि २५ प्रतिशत भन्सार लगाउने

ट्रम्पले क्यानडा र मेक्सिकोको उत्पादनमा आजदेखि २५ प्रतिशत भन्सार लगाउने


  • 1.6K
    Shares

    ट्रम्पले क्यानडा र मेक्सिकोको उत्पादनमा आजदेखि २५ प्रतिशत भन्सार लगाउने
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोको सबै उत्पादनमा मंगलबार मध्यरातिदेखि लागू हुनेगरी २५ प्रतिशत भन्सार महसुल लगाउने भएका छन्।

    यसअघि पनि ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुनेगरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका थिए। क्यानडाबाट आउने कच्चा तेलमा भने उनले १० प्रतिशत मात्रै भन्सार लगाउने भनेका थिए।

    तर त्यो लागू हुने बेलामा अन्तिम क्षणमा ३० दिनका लागि रोकेको थिए। ह्वाइट हाउसमा सोमबार बोल्दै एक महिनाअघि जस्तै यो पटक पनि अन्तिम मिनेटमा भन्सार रोक्ने कुनै सम्भावना नरहेको उनले जोड दिएका छन्। उनले भन्सार लगाउने सबै तयारी गरिसकिएको र भोलिदेखि लागू हुने घोषणा गरे भनेर द न्यु योर्क टाइम्सले लेखेको छ।

    उनले अवैध आप्रवासी र लागुपदार्थ अमेरिका पठाएकाले मेक्सिको र क्यानडालाई भन्सार लगाउने भन्दै आएका छन्।

    अमेरिकाका दुई प्रमुख व्यापार साझेदार अनि उत्तर र दक्षिणका छिमेकीले उनको सीमा सुरक्षा र लागुऔषध तस्करीबारे चिन्ताहरूको सम्बोधन गर्ने भनेपछि एक महिनाअघि अन्त्यमा उनले आफ्नो कदम ३० दिनका लागि रोकेका थिए।

    यसले व्यापार युद्धमा धकेलिन लागेको उत्तर अमेरिकालाई केही दिनको राहत भएको थियो। क्यानडा र मेक्सिको मात्रै नभएर अमेरिकाकै आर्थिक वृद्धिमा ठूलो असर पार्ने र मूल्यवृद्धि गराउने खतरा हालका लागि टरेको थियो।

    मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शानबामले अवैध आप्रवासी र लागुपदार्थ अमेरिका छिर्नबाट रोक्न १० हजार सैनिक खटाउने भनेपछि ट्रम्पले भन्सार लगाउने कदम रोकेका थिए। जबाफमा अमेरिकाले पनि मेक्सिकोमा आफ्नो शक्तिशाली हतियार जानबाट रोक्न प्रतिबद्धता जनाएको थियो।

    ट्रम्पको पहिलो कार्यकालमा पनि भन्सारबाट जोगिन मेक्सिकोले अमेरिकासँगको सीमामा १५ हजार सैनिक पठाउने प्रतिबद्धता व्यक्त गरेको थियो।

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि भन्सार महसुलमा रोक लागेको बेलामा अमेरिकी सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। आफ्नो सरकारले फेन्टनिल नियन्त्रण गर्न एक जना अधिकारी नियुक्त गर्ने र मेक्सिकोका लागुपदार्थ पैठारी गर्ने गिरोहहरूलाई आतंकवादी समूह भनेर सूचीबद्ध गर्ने पनि भनेका थिए।

    एक महिनाअघि मेक्सिको र क्यानडाका उत्पादनमा २५ प्रतिशत भन्सार महसुल लगाउने ट्रम्पले धम्की दिएपछि विश्व बजारमा हलचल भएको थियो। अमेरिकाकै सेयर बजारमा पनि गिरावट आएको थियो। सेयर बजारमा ओरालो लागे आफ्नो लोकप्रियतामा पनि ह्रास आउने भनेर सचेत ट्रम्पले त्यसै कारण आफ्नो कदम रोकेको मानिएको थियो।

    तर उनले एक महिनापछि फेरि मेक्सिको र क्यानडाका उत्पादनमा २५ प्रतिशत भन्सार महसुल लगाउने भएका हुन्।

    प्रकाशित मिति :फाल्गुण २० २०८१ मंगलवार - १२:२६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij