२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणपछि एक भव्य समारोहलाई सम्बोधन गर्दै उनले अमेरिकाको स्वर्णयुग सुरु भएको बताए ।
‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो,’ उनले भने, ‘यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ ।’
उनले थपे, ‘आजबाट अमेरिकाको स्वर्ण युग सुरु हुँदै छ । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ । म स्पष्टसँग भन्न चाहन्छु कि सधैं अमेरिकालाई प्राथमिकता दिनेछु ।’
अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने भन्दै उनले अमेरिकाको प्रगतिका लागि कडा प्रयास गर्ने र नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि सबै अमेरिकी नागरिकलाई एकताबद्ध भएर काम गर्न उनले आह्वान गरे ।
ट्रम्पले सार्वजनिक र निजी जीवनका हरेक पक्षमा जाति र लिङ्गलाई समावेश गर्ने हालको नीति अन्त्य गर्ने बताए । अब केबल महिला र पुरुष गरी दुई मात्र लिङ्ग हुने बताउँदै उनले आजैबाट अमेरिकाको आधिकारिक नीति हुने घोषणा उनले गरे ।
कूटनीतिक मामिलाका बीबीसी सम्वाददाता पोल एडम्सले ट्रम्पको यो भाषणलाई विश्वका लागि ट्रम्पको कडा सन्देश भएको बताउँछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij