Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

६० करोडको तिहार लक्षित विद्युतीय बजार ३० करोडमा खुम्चियो, व्यवसायी भन्छन्- ग्राहकको चहलपहल छैन

६० करोडको तिहार लक्षित विद्युतीय बजार ३० करोडमा खुम्चियो, व्यवसायी भन्छन्- ग्राहकको चहलपहल छैन


  • 2.2K
    Shares

    ६० करोडको तिहार लक्षित विद्युतीय बजार ३० करोडमा खुम्चियो, व्यवसायी भन्छन्- ग्राहकको चहलपहल छैन
    images

    काठमाडौं । रंग र झिलिमिलीको पर्व तिहार नजिकिएको छ । तिहारको समयमा बेलामा विद्युतीय सामग्रीहरुको व्यापार व्यवसाय फस्टाउने आशामा व्यवसायीहरु छन् । तर विगतको वर्षहरुमा भन्दा यस वर्ष ग्राहकहरुको मागमा कमी आएको व्यवसायीहरु बताउँछन् । माग कम भएसँगै पसको भाडा कसरी तिर्ने भन्ने चिन्ता आफूहरुमा परेको व्यवसायीको भनाइ छ ।

    गतवर्षको विद्युतीय सामग्रीहरु बिक्री नभएकाले यस वर्ष नयाँ सामग्री नल्याएको व्यवसायी बताउँछन् । तिहारमा विशेषतः बिक्री हुने भनेको झिलिमिली बत्ती हो । तर युवाहरु विदेश जाने र नेपालमा रमाइलो गर्ने जनशक्ति कम भएकाले व्यापार व्यवसाय हुन नसकेको अनुमान व्यवसायीको छ ।

    नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था कमजोर रहेको बताए ।  
    विगतका वर्षहरुमा झैँ यस वर्ष विद्युतीय सामग्रीको व्यापार नभएको उनको भनाइ छ ।

    भारतको कोलकताबाट वीरगञ्ज नाका हुँदै आउने सामानहरु आइसकेको भए पनि तातोपानी र केरुङ नाका भएर चीनबाट आउने विद्युतीय सामग्री आएका छैनन् ।

    तातोपानी नाकाबाट केही दिनभित्रै सामग्री आउने जानकारी पाए पनि काठमाडौं केन्द्रित बजार हुने निश्चित भएको उनको भनाइ छ । महासंघले यस वर्षको तिहारमा ३० करोड सम्मको सामान विक्री गर्ने अनुमान गरेको छ । तर विगतका वर्षहरुमा ५०र६० करोडको सामग्री तिहारमा व्यापार हुने गरेको बताए ।

    ‘यथार्थमा भन्ने हो भने बजारको अवस्था कमजोर भएको कारणले विगतका साल जस्तो धेरै विद्युतीय सामग्री ल्याएका छैनौँ । कलकताबाट वीरगञ्ज हुँदै आउने सामानहरु लगभग आइसकेको अवस्था हो । केरुङ र तातोपानी नाकाबाट आउने सामानहरु बाटो बिग्रिएको कारणले गर्दा आउन सकिरहेको छैन,’ उनले भने, ‘त्यसकारणले यथार्थ डाटा आइसकेको छैन । हाम्रो अनुमानमा २५र३० करोडको सामान आउँछ की भन्ने छ । नेपालको बजार विगतमा धेरै राम्रो थियो । ५०र६० करोडको मार्केट हो ।’

    अध्यक्ष देवकोटाले गत वर्षको विद्युतीय सामानहरु बिक्री नभएकाले यस वर्ष नयाँ सामान ल्याउँदा फसिन्छ की भन्ने त्रास व्यवसायीमा रहेको बताए ।

    कोभिडपछि नेपालको बजार संकुचनमा रहेको उनी बताउँछन् । व्यवसायीहरुसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना बनाएर अघि बढेको बताए ।

    ‘अहिले व्यवसायीहरु ल्याएर फसिन्छ की भन्ने विगतको अनुभवले गर्दा त्यति उत्साहति छैनन् । विगतमा कन्स्ट्रक्शन राम्रो थियो, युवा जनशक्ति थिए, अहिले युवा जनशक्ति छैन, कोभिडपछि यहाँको बजार संकुचनमा छ, रिकभर भइसकेको छैन,’ उनले भने, ‘तातोपानी नाका केही दिनमा खुल्ने भन्नेछ । त्यो भनेको अन्तिम समयमा आउँदा काठमाडौं केन्द्रित मार्केट हुन्छ, त्यो भनेको व्यापार व्यवसाय खुम्चिने अवस्था छ । सबै व्यवसायीहरुसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना राख्नुभएको छ।’

    नेपाली बजारमा आउने विद्युतीय सामग्री सबैभन्दा धेरै चीन र भारतबाट आउने गर्छन् । त्यसमाथि पनि चीनबाट धेरै आउँछन् । तेस्रो मुलुकबाट केही सामग्रीहरु मात्रै नेपाल आउने गरेको अध्यक्ष देवकोटा बताउँछन् ।

    तिहारको बेलामा माला बत्तीहरु ल्याइने गरेको भए पनि तिहारभन्दा पहिला विद्युतीय सामग्रीको व्यापार धेरै हुने उनको भनाइ छ ।

    ‘चीन र भारतबाट सामानहरु धेरै ल्याउँछौँ । बाँकी केही सामग्रीहरु तेस्रो मुलुकबाट ल्याइन्छ । हामी चीन र भातरसँग निर्भर छौँ । तिहारको बेलामा माला बत्तीहरु ल्याइन्छ । हाम्रो अनुभवले के भन्छ भने तिहारमा जनरल पब्लिक भीडभाड हुन्छ, मालाबत्ती किन्नुहुन्छ । रमाइलो हुन्छ । तर हाम्रो खास क्वालिटीको हिसाबको व्यापार भनेको दशैंमा हो । दशैंको बेलामा एक ग्राहकले ४०र५० हजारको सामान लिएर जाने गर्नुहुन्थ्यो ।’

    सुन्धारामा विद्युतीय सामग्रीहरुको व्यापार गर्दै आएका सुशील प्रधानाङ्गले अहिले व्यापार खासै राम्रो नभएको गुनासो गरे । नेपालीमा अन्तिम समयमा आएर किन्ने बानी भएकाले पनि अझै व्यापार हुने आश रहेको उनले बताए ।

    सहकारीमा जम्मा पारेको रकम सहकारी ठगहरुले खाइदिएकाले पनि आम नागरिकसँग पैसा नहुँदा क्रय गर्ने सामथ्र्य नरहेको हुनसक्ने उनको अनुमान छ ।पैसाको अभावका कारण नै बजारमा चहलपहल कम रहेको उनले बताए ।

    ‘व्यापार खासै अहिलेसम्म देखिएको छैन । हामी नेपालीहरु अन्तिम अन्तिममा तात्ने चलन छ तर अहिलेसम्म खासै देखिएको छैन । कारोबार धेरै नै गर्ने लक्ष्य हो तर छैन,’ उनले भने, ‘ मेरो विचारमा सहकारीले बचतकर्ताको पैसा अपचलन गरेको छ, त्यसको असर मानिसमा परेको जस्तो लाग्छ । किनभने जे जति पैसा थियो, त्यो जम्मा गरिएको ठाउँ त्यही नै हो । मुख्य कारण पैसाको अभाव नै हो । पोहोर साल ठिकै व्यापार थियो । अहिले सर्वाइभ हुने स्थिति नै देखिएको छैन । सामान त जसरी पनि आउँथ्यो होला तर डिमाण्ड नै छैन ।’

    बजारमा विद्युतीय सामग्रीको माग नै नरहेको उनको भनाइ छ ।

    सुन्धारा क्षेत्रमै विद्युतीय सामग्रीको व्यवसाय गर्दै आएकी संगीता श्रेष्ठ पनि यस वर्ष खासै व्यापार नभएको बताउँछिन् । तिहार आउन अझै केही दिन बाँकी भएकाले अन्तिमसम्म व्यापार हुने उनको आशा छ ।

    प्रविधिको समय भएकाले मोबाइल, रिमोटबाट चलाउन मिल्ने सामग्रीहरुको डिमाण्ड आउने भए पनि युवा जनशक्ति बाहिर रहेकाले खासै माग नरहेको उनी बताउँछिन् । रमाइलो गर्ने युवा जनशक्ति बाहिरिँदा चाडपर्व खल्लो हुनाको साथै व्यापार व्यवसाय पनि खस्किएको उनको भनाइ छ ।

    ‘व्यापार अहिले त्यति छैन, अब एक दुई दिनमा होला । व्यापार भनेर त्यत्ति पहिला जस्तो अब तिहार आयो भनेर लगातार मान्छे आउने छैन । तिहारको सामानहरु यहाँ भन्दा बाहिर जिल्लाबाट अर्डर आइरहेको छ । त्यो अलिअलि पठाइरहेका छौँ,’ उनले भनिन्, ‘अहिले टेक्नोलोजीको जमाना भएकाले मोबाइल, रिमोटबाट चलाउन मिल्ने खोज्छन् । त्यो सामानहरु प्रोभाइड त हुँदैन । सकेसम्म प्रोभाइड गरेर ग्राहकहरुलाई खुशी बनाउने प्रयासमा छौँ । यो मन्दीका कारण होला पहिला भन्दा अलि कम जस्तो लाग्छ ।’

    नयाँ इनोभेसन चाहिने युवाहरु बाहिरिँदा देशमा व्यापार व्यवसाय पनि खस्किएको उनी बताउँछिन्। वार्म लाइटको माग यस वर्ष बढेको उनले जनाकारी दिइन् ।

    ‘नेपालमा बस्ने मान्छे नै धेरै छैनन् । प्रायःजस्तो बाहिर नै जान्छन् । राम्रो लगाउने, झिलिमिली गर्ने भन्ने मान्छे जति सबै विदेशिए । बुढाबुढी मात्रै छन् । नयाँ इनोभेसनको कुरा युवाहरुलाई चाहिन्छ, युवाहरु देशमै छैनन् । वार्म लाइटको यस वर्ष बढी डिमाण्ड छ।’

    व्यवसायी दुर्गा सापकोटा विगतको तुलनामा व्यापार कम रहेको बताउँछन् । प्राकृतिक प्रकोप, पैसाको कमीका कारण पनि ग्राहक नआएको हनुसक्ने उनी बताउँछन् ।

    ‘दीपावलीको लागि व्यापार कम नै छ । हुनत समय आउन अझै बाँकी नै छ । भनेको जस्तो व्यापार भएको छैन । प्राकृतिक प्रकोप, पैसाको कमी पनि छ । त्यसैले पनि ग्राहक कम आउनुभएको होला’ उनले भने ।

    व्यवसायी बाबुराम घिमिरेले असोजको तुलनामा कार्तिक लागेपछि विद्युतीय सामग्रीहरुको व्यापार बढेको बताए ।

    बजारमा विगतको तुलनामा खासै चहलपहल भने नरहेको उनी बताउँछन् । विद्युतीय सामग्रीहरुको बजार मूल्य भने विगतको सरह नै रहेको उनले बताए ।

    ‘कार्तिक लागेपछि व्यापार केही न केही सुध्रिएको छ । चहलपहल त खासै छैन । पोहोर सालको भन्दा यस वर्ष पाउने रेट सस्तो छ,’ उनले भने ।

    अर्का व्यवसायी अमित केडिया भने पहिलाको तुलनामा व्यापार धेरै नै कम रहेको बताउँछन् । पहिलाको भन्दा ६०र७० प्रतिशतले व्यापार कम रहेको बताए ।

    देशको आर्थिक अवस्था पनि व्यवसाय नफस्टाउनुको एउटा कारण हनुसक्ने उनले बताए । उनले विगतका वर्षहरुमा भ्याइनभ्याइ हुने व्यवसायी अहिले खाली रहेको बताए ।

    सरकारले विद्युतीय सामग्रीहरुको व्यापार गर्नेहरुमाथि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    ‘पहिलाको तुलनामा अहिले व्यापार छैन । व्यापार एकदमै छैन । देशको आर्थिक अवस्थाले हो की के हो । पहिलाको भन्दा ६०र७० प्रतिशतले घटेको छ । तिहारको समयमा पनि हामी खाली छौँ,’ उनले भने, ‘विगतका वर्षहरुमा भ्याइनभ्याइ हुन्थ्यो । सरकारले पनि यो विषयमा कुनै ध्यानाकर्षण गरेको छैन ।’

    व्यवसायी राज नेपालले व्यवासायीहरुलाई तिहारको समयमा पनि व्यापार नहुँदा चिन्तित भएको बताए ।

    तुलनात्मक रुपमा यस वर्ष व्यापार कम रहेको उनको भनाइ छ ।

    ‘व्यापारीहरुलाई व्यापार नभएर चिन्ता छ । तुलनात्मक रुपमा यस वर्ष व्यवसायिक रुपमा र अरु हिसावले पनि खासै उत्साह छैन,’ उनले भने,’यतिबेला राम्रै चाप हुनुपर्ने बेला हो । तर अघिल्ला वर्षहरुको जस्तो ठूलो चाप छैन । व्यवसायीहरुलाई कसरी हुन्छ सरकारले बचाउने काम गर्नुपर्छ । बजारमा चहलपहल गर्नेकाम गर्नुपर्छ । यस्तै अवस्था भइरहे व्यवसायीहरु धेरै पलायन हुने अवस्था आउँछ ।’

    प्रकाशित मिति :कार्तिक १२ २०८१ सोमवार - १३:४४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij