Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बाढीपहिरो प्रभावित काभ्रेका तीन पालिकालाई काठमाडौं महानगरको २०-२० लाख सहयोग

बाढीपहिरो प्रभावित काभ्रेका तीन पालिकालाई काठमाडौं महानगरको २०-२० लाख सहयोग


  • 1.9K
    Shares

    बाढीपहिरो प्रभावित काभ्रेका तीन पालिकालाई काठमाडौं महानगरको २०-२० लाख सहयोग
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि २०-२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

    महानगरका प्रमुख बालेन शाहको अध्यक्षतामा आज बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले पालिकाहरुको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसरी सहयोग प्रदान गरिने पालिकाहरुमा पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिका छन् । 

    पालिकाहरुबाट सहयोगको माग भएपछि विपद व्यवस्थापन समितिमा छलफल गरेर सहयोगका शिफारिस गरेर महानगर विपद व्यवस्थापन समितिमा पठाइएको, समितिका संयोजक प्रेम थापाले जानकारी दिए । 

    आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकाहरुलाई महानगरपालिकाले सहयोग उपलब्ध गराएको हो । आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन वडाहरुलाई पत्राचार गरिएको छ । वाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहहरुलाई ‘विपद व्यवस्थापन कोष’ बाट सहयोग उपलब्ध गराएको हो ।

    अनधिकृत बसोबासलाई भौतिक सहयोग गरेर असुरक्षित आवासलाई बढावा नदिने महानगरपालिकाको नीति छ । सहयोग उपलब्ध गराइएका पालिका क्षेत्रमा असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल बर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी र पहिरोले व्यक्तिका बस्ने घर पूर्ण र आंशिक रुपमा क्षति गरेको छ ।

    सार्वजनिक सेवा प्रदान गरिने कार्यालयहरुबाट सेवा प्रवाह गर्न कठिन हुने अवस्था सिर्जना भएको छ । सडक, खानेपानीका ट्याङ्की तथा पाइप लाइन, सञ्चार र विद्युत सञ्जाल विच्छेद भएको छ । खेतीबाली बगाएको र पुरिएको छ । लत्ताकपडा, खानेकुराको अभाव तथा स्वास्थ्यजन्य समस्या सिर्जना भएको छ ।

    यस्तो मानवीय संकटमा राहत र पुनःस्थापना गर्न महानगरपालिकाले सहयोग गरेको हो ।   बाढी पहिरोको विपत्तिमा परेर पनौती नगर क्षेत्रमा २० जना व्यक्तिको मृत्यु भएको छ । ५ सय वटा घर पूर्ण र ७१३ वटा घर आंशिक रुपमा क्षति भएका छन् ।

    २ हजारभन्दा धेरै पशु धनको क्षति भएको छ । रोशी गाउँपालिका क्षेत्रभित्र १२ जना व्यक्तिको निधन भएको छ । आवासीय करिब ५ सय घरमा पूर्ण क्षति भएको छ । करिब १ हजार ५ सय घरमा आंशिक क्षति भएको छ । खसी बोका, गाई, भैसी गरेर करिब ५ सय र कुखुरा चल्ला करिब २ हजार संख्यामा क्षति भएको छ ।    

    वेथानचोक गाउँपालिकाभित्र १२ जना व्यक्तिको निधन भएको छ । पूर्ण र आंशिक गरेर ९७० वटा घरहरुमा क्षति पुगेको छ । गाई, भैँसी र वंगुर गरेर १ हजार वटा, ८ हजार ५ सय वटा कुखुरा गरी ९ हजार ५ सय बढी पशुधनको क्षति भएको छ ।  गाउँपालिकाको प्रशासनिक भवनमा पनि क्षति पुगेको छ ।

    प्रकाशित मिति :आश्विन १८ २०८१ शुक्रवार - १६:२२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij