२०८२ माघ १० गते शनिवार
काठमाडौं । गत शुक्रबार र शनिबार परेको भीषण वर्षासँगै आएको बाढीपहिरोले देशैभर ठूलो धनजनको क्षति पुर्याएको छ ।
हालसम्म २१७ जनाको मृत्यु भएको छ । १४३ जना घाइते भएका छन् भने २८ बेपत्ता भएको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ४३३१ जनाको उद्धार गरिएको छ ।
यस्तोबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने चर्को आलोचनामा उत्रिएको छ । विपद्ले सरकारको हैसियत मापन परेको जस्ता टिप्पणी गरेका छन् ।
विपद्को समयमा सत्ता र प्रतिपक्षी दल एकै ठाउँमा उभिनुपर्ने कतिपयको बुझाइ छ । तर, रास्वपाले दुई दिनको पानीले दुईतिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी गरेको छ ।
गत आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल भएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाले भने, ‘मोबाइलमा रिङ टोन बनाउँदैमा राज्य संयन्त्रको भूमिका देखिँदैन । दुई दिनको पानीले दुई तिहाइको औकात देखाइदियो ।’
त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बाढीपहिरो, डुबानजस्ता राष्ट्रिय विपत्तिको क्षति न्यून गर्न सरकार चुकेको टिप्पणी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्राकृतिक विपत्तिका सन्दर्भमा देशका प्रधानमन्त्री र मन्त्रीका अभिव्यक्ति आपत्तिजनक रहेको समेत उल्लेख गरेका छन् ।
‘मौसमविद्को ‘रेड अलर्ट’बाट विपद्लाई पुरै रोक्न त सकिँदैन थियो नै तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो । सरकार चुकेकै हो फेल भएकै हो । यो विपदको बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक छन्,’ उनले फेसबुकमा लेखेका छन् ।
सत्तारूढ कांग्रेस र प्रतिपक्षी माओवादी सासदले क्रमशः १५–१० दिनको तलब काटेर राहतकोषमा जम्मा गर्ने निर्णय गरेका छन् । एमाले, रास्वपा र राप्रपाले हालसम्म कुनै निर्णय गरेका छैनन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij