२०८२ माघ १० गते शनिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को नेतृत्वका विषयमा उमेरहदबारे मतदान हुने भएको छ ।
बिहीबारदेखि सुरू भएको २३औँ सम्मेलन चलिरहेका बेला आइतबार बसेको माओवादी केन्द्रको बैठकले विद्यार्थी संगठनमा उमेरहद लगाउने कि नलगाउने जिम्मेवारी हललाई नै दिने निर्णय गरेको हो ।
अधिकांश नयाँ विद्यार्थी नेताहरू सम्मेलनमा सहभागी भएकाले आज हलले संगठनमा उमेरहदबारे निर्णय लिने भएको छ । अनेरास्ववियु (क्रान्तिकारी)मा २८, ३० र ३२ बर्ष उमेरहद लगाउने विषयमा छलफल चलिरहेको छ ।
सम्मेलनले अनेरास्ववियु (क्रान्तिकारी)मा उमेरहद लगाउने निर्णय गरेकामा अध्यक्षका कयौं आकांक्षी नेताहरू विद्यार्थी राजनीतिबाट बिदा हुने छन् ।
यदि उमेरहद लागू भएमा ३३ वर्ष नाघेका विद्यार्थीहरूले बिदा लिनुपर्ने बाध्यात्मक अवस्थामा आउने भएकोले उनीहरूले आपत्ति जनाएका छन् । अनेरास्ववियु (क्रान्तिकारी)का अधिकांश नेतृत्व तहमा दाबी गर्ने ३३ नाघेका छन् । यसर्थ उनीहरूले तत्काल उमेरहद लागू गर्नेबारे आपत्ति जनाएका हुन् ।
सम्मेलनमा इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौं नेता अध्यक्षका आकांक्षी छन् ।
बिहिबारदेखि सुरु भएको महाधिवेशनमा २३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल (क्रान्तिकारी)ले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij