२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ आयोजित विशेष समारोहमा सम्मेलनको उदघाटन गरेका छन् ।
सम्मेलनमा लगानीका लागि एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने त्यसमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएका छन् । साथै १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने कार्यक्रम छ ।
यसअघि २०७३ साल फागुन १९ र २० गते पहिलो तथा २०७५ चैत १५ र १६ गते दोस्रो लगानी सम्मेलन आयोजना गरिएको थियो ।
त्यस्तै अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । आज तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटन सत्रमा अर्थमन्त्री पुनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए ।
उनले नेपालमा लगानीको अवसर र सम्भावना खोज्न आउने पाहुनाप्रति आभार व्यक्त गरे । सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न कानुनी सुधारका क्षेत्रमा हालै गरिएका प्रयासबारे जानकारी गराउनुका साथै लगानीका लागि तयार भएका परियोजनासहित विभिन्न क्षेत्रका आयोजनाको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको उल्लेख गरे ।
‘व्यवसायिक वातावरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौँ । नीतिगत र व्यवसाय सुरु गर्दा लाग्ने प्रक्रियागत झण्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गरिएको छ । आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ,’ उनले भने ।
अर्थमन्त्री पुनले सम्मेलनका क्रममा सरकार र लागानीकर्ता, स्वदेशी निजी क्षेत्र र विदेशी निजी क्षेत्रबीच विभिन्न सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिइएको बताए ।
सम्मेलन नीति निर्माता, लगानीकर्ता, विशेषज्ञ र अन्य सरोकारवालाबीच विचार आदानप्रदान गर्नुका साथै उद्योग र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहकार्यका लागि सञ्जाल बिस्तार (नेटवर्किङ) गर्ने अवसरमा रुपान्तरण हुने विश्वास मन्त्री पुनले व्यक्त गरे ।
नेपालका आर्थिक सूचकहरू स्थिर र सकारात्मक बन्दै गएको उल्लेख गर्दै अर्थमन्त्री पुनले नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषिमा आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।
उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवद्र्धनमा जोड दिएको अर्थमन्त्री पुनको भनाइ छ ।
हाल लगानी गरिरहेका विदेशी लगानीकर्ताले प्राप्त गरेको सफलता र नाफा आर्जन गरेको अवस्थाले पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य रहेको पुष्टि हुने उल्लेख ग्र्दै अर्थमन्त्री पुनले नेपालमा ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई अपिल गरे ।
नेपालले औद्योगिक विकास, पूर्वाधार विकास, रोजगारी सिर्जना, निर्यात प्रवद्र्धनका साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरणका लागि उत्प्रेरकका रूपमा विदेशी लगानीलाई स्वागत गर्ने नीति अख्तियार गरेको अर्थमन्त्री पुनले स्पष्ट पारे ।
सरकार निजी क्षेत्रसँग निजी प्रत्यक्ष लगानीका साथै सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो । नेपालका प्रचुर लगानीको सम्भावनालाई उजागर गर्न र दिगो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास अर्थमन्त्री पुनले व्यक्त गरे । –रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij