२०८२ मंसिर ३ गते बुधवार
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। बागमती प्रदेशसभामा उनले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गरेका हुन्।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा रहेका एक सय १० सदस्यमध्ये बहुमत सदस्य ५६ जनाको मत प्राप्त गरेका हुन्। एक सय आठजना प्रदेशसभा सदस्य उपस्थित भएकामा उनलाई सत्ता गठबन्धन दल नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) को २१, नेकपा (एकीकृत समाजवादी) को सात र हाम्रो नेपाली पार्टीका एक गरी ५६ जनाले विश्वासको मत दिएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका ३७ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ। राप्रपा नेपालको सभामुखबाहेक १२ र नेमकिपाको तीन मत रहेको छ। प्रदेशसभामा हाम्रो नेपाली पार्टीका एक सदस्य अनुपस्थित भएका छन्।
पहिलो र दोस्रो पटक सजिलै विश्वासको मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक विश्वासको मत लिने अन्तिम समयसम्म बहुमत सदस्य जुटाउन कसरत गर्नुपरेको थियो। नेपाल कम्युनिष्ट पार्टी (एकीककृत समाजवादी) लाई मुख्यमन्त्री आलोपालो गर्ने सहमतिपछि विश्वासको मत दिन तयार भएको बताइएको छ। दुई प्रदेशसभा सदस्य रहेको हाम्रो नेपाली पार्टीबाट शैलेन्द्र बज्राचार्यले मात्र विश्वासको मत दिएका छन्।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा, १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij