२०८२ भाद्र २ गते सोमवार
पाँचखाल । पाँचखाल नगरपालिका वडा नम्वर १ मा रहेको ज्ञानेश्वरी माध्यमिक विद्यालयका कार्यालय सहयोगी मणिराज दाहाल सहित छोरी मनिषा र छोरा मनिष एसईई परीक्षा २०८० मा सामेल भएका छन् ।
मणिराज र मनिषले ज्ञानेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरेका हुन् भने छोरी मनिषाले पाँचखालमा रहेको सरस्वती शिक्षा गृहमा अध्ययन गरेकी हुन् ।
४१ वर्षको उमेरमा पहिलो पटक एसईई परीक्षामा सामेल हुने अवसर पाएको मणिराजले बताए । ‘छोरा मनिष ज्ञानेश्वरीमा भर्ना भए पछि बाबु समेत रहेका कार्यालय सहयोगी मणिराजले आफुलाई पनि अध्ययन गर्न र एसईई पास गर्ने चाहना भएको बताए पछि विद्यालय परिवारले उनलाई कार्यालय सहयोगिको जिम्मेवारी सहित अध्ययनको वातावरण मिलाएको थियो’ विद्यालयका सहायक प्रधानाध्यापक गंगाराम कँडेलले भने ‘यस अघि विविध कारणवश उनले अध्ययन गर्न र एसएलसी तथा एसईई परीक्षामा सामेल हुन पाएका पनि रहेनछन् । अहिले चाहना गरे पछि वातावरण बनायौं । बाबु छोरा सँगै अध्ययन गरेर एकै पटक एसईईमा सहभागि भएका छन् । ’
काम र अध्ययन सँगसँगै गरेका मणिराजको पहिलो दिनको परीक्षा राम्रो भएको प्रतिक्रिया दिएको सहायक प्रधानाध्यापक कँडेलले बताए । बाबु छोराको परीक्षा केन्द्र सर्वमंगला मा वि पाँचखाल रहेको छ भने छोरी मनिषाको केन्द्र दुधेश्वर मा विमा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij