२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । वैदेशिक रोजगारीका लागि साउदी पुगेका २१ जना नेपाली अलपत्र परेका छन् । साउदीको दमामस्थित अलस्पाेर पुगेका २१ जना नेपाली श्रमिकहरू काम नपाएर समस्यामा परेका हुन् ।
बसुन्धारास्थित दैलेख ओभरसिजमार्फत साउदी पुगेका दाङका मेघराज भण्डारीसहितका नेपालीहरू समस्यामा परेमा हुन् । साउदी पुगेको १५ दिन बितिसक्दा पनि कुनै काम नपाएकाे उनीहरूको भनाइ छ । साउदीबाट सम्पर्कमा आएका श्रमिकहरूले उक्त मेनपावरबाट आएका आफूहरू काममा जान नपाएर कोठामै बसिराखेको बताए ।
'हामीलाई सिधा कम्पनीमा काम लगाइदिन्छु भनेर लग्यो। अहिले सप्लायर्स कम्पनीमार्फत काममा लगाउने रहेछ। काम नपाउँदासम्म हामीलाई एउटा कोठामा राखेको छ। खाना पनि राम्रोसँग पाएका छैनौ,' एक श्रमिकले भने । साउदी पुगेदेखि उनीहरूले न काम पाएका छन् । न त राम्रोसँग बस्न पाएका छन् । कोठामा सुत्ने बेड मात्रै रहेको र खाना खाने समेत टुंगो नभएका उनीहरूको भनाइ छ ।
उनीहरूलाई वेईटर, पेन्टर, इलेक्ट्रेसियन लगायतका काममा लगाइदिने भन्दै साउदी पठाएको थियो । मेनपावरले आफूहरूबाट जनही २ देखि २ लाख ५० हजार रुपैयाँसम्म पैसा लिएको उनीहरूको भनाइ छ । कम्पनीसँग कुरा गर्दा कुनै प्रतिक्रिया नदिने भन्दै उनले आफूहरूको समस्या समाधान गरिदिन आग्रह गरे ।
दैलेख ओभरसिजले साउदीको हाेटल ईन्टरनेश्नललाई कामदार चाहिएको भन्दै विज्ञापन आह्वान गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij