Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

घोडादौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई

घोडादौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई


  • 2.2K
    Shares

    घोडादौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडादौड प्रतियोगितामा कास्कीको समरुङका दीपेन्द्र गुरुङ प्रथम भएका छन् । 

    अन्नपूर्ण गाउँपालिका–६ खिवाङ देखि घोडेपानीसम्मको छ दशमलव पाँच किलोमिटर दुरी २८ मिनेट ४१ सेकेण्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको हो । बिजेता र उपविजेताको समयान्तर ५ सेकेण्ड रहेको छ । २८ मिनेट ४६ सेकेण्डमा दुरी पार गरेका घान्द्रुकका कृष्ण मगर दोस्रो र कास्कीको घान्द्रुककै दीपेन्द्र श्रीपालीले २९ मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पार गरेर तेस्रो भए ।

    प्रथम, दृतीय र तृतीयलाई क्रमश रु. ५५ हजार, ३५ हजार र २५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । घोडेपानी घोडा व्यवसायी समितिले आयोजना गरेको प्रतियोगितामा शिख, घोडेपानी, घान्द्रुक, समरुङ, उल्लेरी, फलाते लगायत ठाउँका २५ जना घोडालाई दौडाइएको थियो । 

    घोडादौडका लागि खिवाङ देखि कुटुका–ठुलाखर्क– पेरिभारानी ताल– भलखरा –लरेनी, कालिसार हुदै घोडेपानी जोड्ने परम्परागत मार्ग प्रयोग गरिएको प्रतियोगिताको संयोजन गर्नुभएका घोडेपानीका घोडा व्यवसायी बिरेन गर्बुजा पुनले बताए । पर्यटन प्रवर्द्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले जानकारी दिए ।

    “घोडेपानीको पर्यटन विकासमा घोडाको योगदान छ,” घोडेपानीका घोडा व्यवसायी याम पुनले भने “सौखिन पर्यटकहरू घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिँड्न नसक्ने पर्यटकहरू घोडा चढेर गन्तव्यमा पुग्न पाएका छन् । घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको छ । ” 

    घोडेपानी युवा क्लब, आमा समुह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । फागु पूर्णिमा पर्वको अवसरमा आयोजित घोडा दौड प्रतियोगिताले अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीमा पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताइन् । घोडादौड अवलोकनका लागि  पर्यटकहरूको आएका थिए ।  

    पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जंगलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटकहरू आउने गर्छन् । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानी विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ । 

    घोडेपानी र घोडाको ऐतिहासिक सम्बन्ध छ । परापूर्व कालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तीर्थयात्रा गर्ने र चिनियाँहरुलाई भारतीय बजार जाने आउने गर्ने बाटोमा थियो । समुन्द्री सतहदेखि करिब दुई हजार ८०० मिटरको उचाइमा रहेको घोडेपानीमा बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको किम्बदन्ती छ । 

     

    प्रकाशित मिति :चैत्र १२ २०८० सोमवार - ०७:३५:२१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij