२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । औपचारिक क्षेत्रमा आप्रवासी (विदेशी) श्रमिक भित्र्याएर रोजगारी दिन बन्द गर्ने मलेसियाली सरकारको निर्णयप्रति नेपाल सरकारले चिन्ता व्यक्त गरेको छ । मलेसियाले आगामी जुन महिनाको प्रारम्भ (१८ जेठ) देखि विदेशबाट श्रमिक नल्याउने गरी मलेसियन सरकारले निर्णय गरेको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव राजीव पोखरेलले नेपाल सरकार समक्ष औपचारिक रुपमा जानकारी नदिइएपनि मलेसियन सरकारले आफ्नो आधिकारिक वक्तव्यमा नै यो जानकारी गराइसकेकोले यसबाट नेपाल पनि प्रभावित हुने देखिएको बताए । उनका अनुसार यो निर्णयको प्रत्यक्ष असर नेपालले भोग्ने जोखिम देखिएको छ । तर, सरकारले राम्रा वैकल्पिक श्रम गन्तब्यको खोजीका लागि काम गर्न यसले अवसर समेत दिने पोखरेलले बताए ।
मलेसिया लामो समयदेखि नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य मुलुक हो । मलेसियाले श्रम बजारमा आप्रवासी कामदारको संख्या बढी भएकाले मलेसिया सरकारले आगामी वैशाख मसान्तसम्म आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने र त्यसपछि प्रवेशमा रोक लगाउने घोषणा गरेपछि वैदेशिक रोजगार व्यवसायीहरूले पनि चिन्ता प्रकट गरिरहेका छन् ।
शुक्रबार मलेसियाको गृह मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदार प्रवेश बन्द हुने भएकाले वैशाख मसान्तअघि आवश्यक कामदार भर्ना गर्न कम्पनीहरूलाई निर्देशन दिएको थियो । मलेसियाका गृहमन्त्री सेरी सैफुद्दीन इस्माइलले शुक्रबार पत्रकार सम्मेलनमा भनेका थिए,‘सरकारले आप्रवासी कामदारहरूको आगमनलाई नियमन गर्ने लक्ष्य राखेको छ, कुल १ कारेड ७० लाख श्रमशक्तिमध्ये १५ प्रतिशतमा विदेशी कामदारलाई सीमित गर्ने नीति तर्जुमा गरिएको छ,’ स्वीकृत कोटाभित्र आप्रवासी कामदार ल्याउन कम्पनीहरूलाई मे ३१ सम्मको समय दिइएको उनको भनाइ थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij